काठमाडौं । बिहीबार नेपाली कम्युनिस्ट पार्टीसँगको एकतापछि नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्ने बताएका छन् । नेकपाले यसबारे एजेन्डाहरू उठाएकाले एकता गरेको उनको भनाइ छ ।
'जेनजी' आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भए पनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको श्रेष्ठको भनाइ छ । राजनीतिक स्थिरताबिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उनको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको श्रेष्ठले बताए ।
यस्तो छ नेता श्रेष्ठको भनाइ :
जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो । अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्छ । यो कुरा कांग्रेस एमालेले उठाएको छ ? यो कुरा नेपाली कम्युनिस्ट पार्टीले आज उठाएको छ, त्यसैले हामी नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेका हौँ । न्युज एजेन्सी नेपाल