काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् ।
बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै 'सफल हुँदैन' भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए ।
शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै उनले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । सुदूरपश्चिमका नेताहरूले त्यहाँको सभामा २०औँ हजार उतार्ने उनको दाबी छ ।
यस्तो छ नेता नेपालको भनाइ
यो एकता सफल हुँदैन भनेका थिए । तर, दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ । पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौँ । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौँ, बिसौँ हजारभन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरू तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ । न्युज एजेन्सी नेपाल