काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेताहरूले जेलमा बन्दी बनाइएका इमरान खानसित भेट्न माग गरेका छन् ।
पीटीआई नेताहरूले इमरान खानलाई तीन हप्तादेखि उनको परिवार र कानुन व्यवसायीहरूसित भेट्न नदिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
सरकारले कसैलाई पनि भेट्न नदिइएकाले उनीहरू खानको व्यक्तिगत र स्वास्थ्य अवस्थाको बारेमा चिन्तित भएको समाचारमा उल्लेख छ ।
इमरानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता जुल्फिकार बुखारीले ४ नोभेम्बरपछि कसैले इमरान खानलाई नदेखेको बताए ।
खानसित किन भेट्न नदिइएको भन्ने बारेमा पनि कुनै जानकारी नदिएको उनले बताए । उनले खानको परिवारलाई चाँडो भेट्न दिनुपर्ने माग गरेका छन् ।
पाकिस्तानको गृह मन्त्रालयले यस विषयमा समाचार एजेन्सी रोयटर्सको प्रश्नको उत्तर दिएको छैन ।
इमरान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । सन् २०२२ मा सेनासित सम्बन्ध बिग्रेपछि सदनमा मतदानबाट उनलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो ।
भ्रष्टाचारको एक मामलामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएका कारण उनी अगस्ट २०२३ देखि जेलमा छन् ।
उनलाई राजनीतिबाट टाढा राख्न सेनाले उनमाथि दर्जनौं मुद्दा लगाएको इमरानको दाबी छ । सेनाले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
इमरान खान कहाँ छन् ?
रावलपिण्डीमा रहेको जेलबाहिर विगतका केही दिनदेखि खानको परिवार र पार्टी सदस्यहरूले उनीसित भेट्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
पार्टीको एक प्रतिनिधिमण्डलले बिहीबार जेल जाँदा पनि भेट्न नदिएको बुखारीले बताए । जेल नियमअनुसार खानले हप्तामा कम्तीमा एकपटक बाहिरीलाई भेट्न पाउने भए पनि जेल प्रशासनले यो अनुमति रोक्का गरेको बताइएको छ ।
स्थानीय मिडियाका अनुसार ७३ वर्षीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर समेत रहेका खानलाई अब उच्च–सुरक्षा भएको जेलमा सारिने तयारी भएको र यसले उनीसित भेट्न थप कठिन हुनेछ ।
खानको अवस्था सामाजिक सञ्जालको चर्को विषय बनेको छ । बिहीबार एक्समा ह्यासट्याग इमरान खान कहाँ छन् ट्रेन्डिङमा परेको थियो ।
पाकिस्तानको गृह मन्त्रालयले यसबारे कुनै टिप्पणी गरेको छैन ।
एक जेल अधिकारीले रोयटर्सलाई नाम नछाप्ने सर्तमा पूर्वप्रधानमन्त्री स्वस्थ रहेको र अर्को कुनै जेलमा सारिने योजना नभएको बताए ।
२४ करोड जनसंख्या भएको इस्लामी देश पाकिस्तानमा सेनाको सरकार बनाउने वा ढाल्ने मुख्य भूमिका रहेको छ ।
मे २०२३ मा उनको गिरफ्तारीले देशव्यापी रूपमा सेनाविरोधी प्रदर्शनलाई जन्म दिएको थियो, जसले पार्टीमाथि दमनको रूप लियो ।
सन् २०२४ को निर्वाचनबाट उनको पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर, धाँधली गरेर प्रधानमन्त्री शहबाज शरीफको नेतृत्वमा गठबन्धन सरकार बनेको पार्टीको दाबी छ । शरीफ र उनका सहयोगीहरूले यो आरोपलाई अस्वीकार गर्छन् । रोयटर्स