site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशी सेनाका ४० ट्यांक अपग्रेड गर्दै पाकिस्तान, ब्यालिस्टिक मिसाइल दिन सक्ने

काठमाडौं । पाकिस्तानको रक्षा कम्पनी हेभी इन्डस्ट्रिज ट्याक्सिला (एचआईटी)ले बंगलादेशी सेनाका ४० ट्यांक अपग्रेडको प्रस्ताव गरेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ताविरोधी आन्दोलनपछि विगत एक वर्षमा पाकिस्तानले बंगलादेशमा आफ्नो रक्षा प्रभाव तीव्र रूपमा बढाएको छ ।

उक्त ट्यांक पाकिस्तानको ‘हैदर’ मोडलजस्तै हुनेछन् । त्यसमा १२५ एमएमको नयाँ बन्दुक, बलियो कम्पोजिट आर्मर र लक्ष्यभेदी प्रणाली समावेश हुनेछ । 

मिडिया रिपोर्टका अनुसार, पाकिस्तानले बंगलादेशलाई ‘अब्दाली’ ब्यालिस्टिक मिसाइल हस्तान्तरण गर्ने विचार गरिरहेको छ । त्यसले अधिकतम ४५० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

एचआईटीका अध्यक्ष लेफ्टिनेन्ट जनरल शाकिर उल्लाह खट्टकले यही महिना ढाकाको भ्रमण गरेका थिए । उनले बंगलादेशी सेनापति जनरल वाकर–उज–जमानसँग ट्यांक अपग्रेडेसन, आर्मर्ड वाहनहरू र संयुक्त उत्पादनका बारेमा छलफल गरेका थिए ।

पाकिस्तानले यसअघिदेखि नै बंगलादेशलाई गोलाबारुद, प्रशिक्षण र अन्तरसेवा कार्यशाला सहयोग प्रदान गरिरहेको छ ।

बंगलादेशमा अन्तरिम सरकार आएपछि ढाकाको विदेश र रक्षा नीतिमा भारतभन्दा पाकिस्तान र चीनतर्फ झुकाव देखिएको छ । 

यसै अवधिमा बंगलादेशका पाइलटहरूलाई पाकिस्तानमा प्रशिक्षणका निम्ति पठाइएको थियो । पाकिस्तानी सैन्य प्राविधिक टोलीहरूले ढाकामा धेरै चरणको वार्ता सम्पन्न गरिसकेका छन् ।

विश्लेषकको भनाइमा पाकिस्तानले यो सम्बन्ध केवल रक्षा व्यापारका निम्ति मात्र नभएर भारतको रणनीतिक अग्रसरतालाई सन्तुलन गर्न पनि मजबुत बनाइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्