काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नियुक्तिविरुद्धको रिटमा आज (मंसिर १२) पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा बिहीबार (मंसिर ११) सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले हेर्दाहेर्दैमा राखेर आज सुनुवाइ थालिएको छ ।
मधेसमा नेपालको संविधानको धारा १६८(२) अनुसारका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएका थिए । त्यसपछि दलहरूले पुनः सोही धाराबमोजिम सरकार गठनका निम्ति आग्रह गरेका थिए ।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले सरकार गठनको आह्वान नै गरिनन् । काठमाडौं जाने भन्दै निस्किएर एक होटेलमा उनले मधेस प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
संविधानकोे धारा १६१(३) अनुसार यादवलाई नियुक्त गरेपछि प्रदेशसभाका ११० मध्ये ७४ जना अर्थात् दुईतिहाइ सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका हुन् । अर्जुन साह र रक्कीप्रसाद साहले पनि सार्वजनिक सरोकारको रिट दायर गरेका छन् ।
तीनवटै रिटमा यसअघि अन्तरिम आदेश भइसकेकाले मुख्यमन्त्री यादव कामचलाउको हैसियतमा छन् । उनले कामचलाउ अवस्थामै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुद्दामा यस दिन फैसलाको सम्भावना छ ।