काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विवाद मिलाउन आफैँ प्रयास थालेका छन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर बसेका देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै सकारात्मक हस्तक्षेप गर्न आग्रह गरेपछि सक्रिय भएका हुन् ।
देउवालाई संस्थापन पक्षका कतिपय नेताले कार्यवाहक फिर्ता लिएर केन्द्रीय समिति बैठक सञ्चालनमा गरेको आग्रह भने स्वीकार गरेका छैनन् । अनौपचारिक रूपमा यसअघि व्यक्तिगत भेटघाट गरेका उनले महामन्त्रीसँग वार्ता गर्न नेता रमेश लेखकलाई खटाएका थिए ।
लेखेकले पुस मसान्तभित्रको कार्यतालिका ल्याएर विशेष महाधिवेशन पक्षधरलाई फर्काउन सकिने भन्दै बिहीबार (मंसिर ११) ‘ब्रिफिङ’ गरेका थिए । त्यसपछि देउवाले बिहीबारै साँझ महामन्त्रीद्वयलाई समेत डाकेर छलफल गरेका थिए । उक्त बैठकमा महामन्त्रीद्वय विशेष महाधिवेशन रोक्न सकिने अवस्था नरहेको भनेर बाहिरिएका थिए ।
देउवाले शुक्रबार (मंसिर १२) कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मासँगै संस्थापन पक्षका ‘सात भाइ’लाई पनि बैठकमा डाकेका छन् । उनीहरूसँगै लेखकसहितका केही केन्द्रीय सदस्य पनि महाराजगन्जस्थित देउवा निवासमा पुगेका छन् ।