काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा आफ्नो पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेकाले साथ दिन आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशका कठिनाइ सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको उनको भनाइ छ । विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर, केपी ओलीले त्यसलाई जोगाउन नसकेको रावलको भनाइ छ ।
यस्तो छ रावलको भनाइ :
अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस् वा अरु दिन होस् । अब नेपाली कम्युनिस्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईंहरूलाई नेतृत्व दिनेछ । त्यो कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईंहरूले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिँचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरूको रोजगारीका लागि तपाईंहरू हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईहरुलाई साथ दिन तयार छौँ । तपाईंहरूको कठिनाइमा नेपाली कम्युनिस्ट पार्टी सदा तयार छ । न्युज एजेन्सी नेपाल