site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिट शुक्रबार (मंसिर १२) पनि ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ रोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको रिट बिहीबार (मंंसिर ११)देखि नै हेर्दाहेर्दैमा राखिएको छ ।

मुद्दाको अर्को पेसी यही मंसिर १५ गतेलाई तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अब यही इजलासले फैसला गर्ने सम्भावना छ ।

मधेसमा नेपालको संविधानको धारा १६८(२) अनुसारका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएका थिए । त्यसपछि दलहरूले पुनः सोही धाराबमोजिम सरकार गठनका निम्ति आग्रह गरेका थिए ।

तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले सरकार गठनको आह्वान नै गरिनन् । काठमाडौं जाने भन्दै निस्किएर एक होटेलमा उनले मधेस प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानकोे धारा १६१(३) अनुसार यादवलाई नियुक्त गरेपछि प्रदेशसभाका ११० मध्ये ७४ जना अर्थात् दुईतिहाइ सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका हुन् । अर्जुन साह र रक्कीप्रसाद साहले पनि सार्वजनिक सरोकारको रिट दायर गरेका छन् ।

तीनवटै रिटमा यसअघि अन्तरिम आदेश भइसकेकाले मुख्यमन्त्री यादव कामचलाउको हैसियतमा छन् । उनले कामचलाउ अवस्थामै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्