site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपामा नेताहरूले आफ्नो मात्रै प्रचार गर्ने काम नगरौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका नेताहरूले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा उनले सो टिप्पणी गरेका हुन् ।

निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरूले खेलेका भूमिकाहरूको एकीकृत रूपमा प्रचार गर्नुपर्ने नेपालको भनाइ छ । उनले विगतमा आफूहरू सरकारको नेतृत्वमा रहँदा केही गरेन भन्नेहरूको पनि खण्डन गर्न पार्टी नेता, कार्यकर्तालाई निर्देशन दिए ।

विगतमा आफूहरूले खेलेका महत्त्वपूर्ण भूमिकाहरू प्रचार गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै नेता नेपालले अहिले पनि मुलुकलाई संकटबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै भएको जिकिर गरे ।

यस्तो छ माधव नेपालको भनाइ :

अब त एकीकृत रूपमा प्रचार पनि गर्नुपर्दछ । म आउने मेरो मात्रै प्रचार गर्ने, अर्को वक्ताले आफ्नै प्रचार मात्रै गर्ने होइन । अब एकीकृत पार्टी भइसकेपछि सिंगो हामीले खेलेका भूमिकाहरू हामीले गरेको योगदानहरू यो देशको प्रत्येक संकटको बेलामा हामीले के के भुमिका खेल्यौँ ? कस्ता कस्ता चुनौतीको सामना गर्‍यौँ ? 'जेनजी' पुस्तालाई अहिले पनि सही बाटोमा अघि बढाउन हामीले उत्प्रेरित गरिरहेका छौँ । यी यावत कुराहरूले पनि बताउँछ कि पार्टीको भूमिका महत्त्वपूर्ण छ ।

अहिले पनि भदौ २३–२४ को घटनाले देशमा चिन्ता भएको थियो । त्यो बेलामा पनि कमरेड प्रचण्ड र म मात्रै हौ कि राष्ट्रपति निवासमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म रातभरि हामी बस्यौँ । राष्ट्रपतिले हामीलाई सम्झिनुभयो । अरु कुनै पनि पार्टीका नेताहरूको अत्तोपत्तो भएन । हामी पुग्यौँ र राष्ट्रपतिजीलाई भन्यौँ– अहिले हुनुभएको प्रधानमन्त्रीलाई पनि सन्देश पठायौँ कि तपाईं अगाडि बढनुहोस् । राम्रो काम गर्नुस् । अब चुनाव नै गर्नुछ भने पनि निष्पक्ष चुनाव समयमा गर्नुस् । हामी ती सबै कुरालाई पनि साथ दिन तयार छौँ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्