site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको अरुणाचल प्रदेश किन चीनको आँखाको कसिंगर बनेको छ  ?

काठमाडौं ।  भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको मुद्दामा दशकौंदेखि भारत र चीनबीचको आपसी सम्बन्धमा तनाव छ । चीनले यसलाई दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गर्दै आएको छ । अब यस मुद्दामा दुवै देश फेरि एकपटक आमनेसामने भएका छन् ।

अरुणाचल प्रदेशको स्वामित्वको प्रश्न भारत र चीनबीच सधैँ तनावको कारण बनेको छ । करिब एक महिनादेखि दुवै देशबीच केही शान्ति थियो । तर, अब अरुणाचल प्रदेशकी एक महिलालाई चीनको सांघाई एयरपोर्टमा दुर्व्यवहार गरिएको र घण्टौँसम्म अनावश्यक रूपमा रोकेको कारण यो विवाद फेरि चुलिएको छ ।

गत हप्ता, भारतीय पासपोर्ट लिएर लन्डनबाट जापान जाँदै गरेकी अरुणाचल प्रदेशकी महिला प्रेमा वाङ्जोम थोङडोकलाई चीनको सांघाई एयरपोर्टमा अध्यागमन अधिकारीहरूले रोकेका थिए । उनलाई अरुणाचल प्रदेश चीनको हिस्सा भएको भन्दै उनको भारतीय पासपोर्ट वैध नरहेको बताइयो । उनले चिनियाँ पासपोर्टका लागि आवेदन दिनुपर्ने वा चाइना इस्टर्न एयरलाइन्सको टिकट खरिद गर्ज भनियो । 

घण्टौंसम्म एयरपोर्टमा रोकिएका कारण ती महिलाको कनेक्टिङ फ्लाइट छुट्यो । उनले पछि चीनस्थित भारतीय दूतावाससँग सम्पर्क गरिन् र करिब एक घण्टापछि उच्चायोगका अधिकारीहरू एयरपोर्ट पुगेर उनलाई बाहिर निकाले ।

प्रेमाले भारतीय विदेश मन्त्रालयलाई पत्र पठाएर आफूमाथि घटेको घटनाको विस्तारमा जानकारी दिएकी छन् । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले पनि घटनाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेका छन् ।  

जानकारहरूका अनुसार, भारतले यस मुद्दामा चीन सरकारसमक्ष आधिकारिक रूपमा विरोध दर्ता गराएको छ । भारत सरकारले चिनियाँ अधिकारीहरूको यस कार्यलाई नागरिक उड्डयनसँग सम्बन्धित शिकागो र मोन्ट्रियल कन्भेन्सनको उल्लंघन भएको बताएको छ ।

चीन अरुणाचल प्रदेश चीनको हिस्सा रहेको र यसको नाम जाङ्नान भएको दाबीमा अडिग छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा जाङ्नान चीनको हिस्सा भएको बताइन् । 

“हामीले कहिल्यै अवैध रूपमा बसाइएको अरुणाचल प्रदेशलाई मान्यता दिएका छैनौँ,” उनले भनिन्, “ कानुनहरूअन्तर्गत नै ती महिला यात्रीको जाँच गरिएकोे र उनको अधिकारहरूको उल्लंघन गरिएको थिएन ।”

विवाद नयाँ होइन
अरुणाचल प्रदेशको मुद्दामा दुवै देशबीचको विवाद कुनै नयाँ होइन । चीनले यसअघि सन् २००५ मा अरुणाचल प्रदेशका मानिसहरूलाई स्ट्यापल्ड भिसा दिने नीति अपनाएको थियो । उसले अरुणाचलका मानिसहरूलाई चिनियाँ नागरिक मान्ने उसको तर्क थियो । त्यसैले उनीहरूलाई नियमित भिसा दिन सकिँदैन । 

त्यस दौरान बाँकी राज्यहरूमा बसोबास गर्ने भारतीयहरूलाई नियमित भिसा जारी भइरहेका थिए । उक्त मुद्दामा निकै विवाद भएको थियो । भारतले स्ट्यापल्ड भिसा मान्न अस्वीकार गर्दै यसको अर्थ अरुणाचलका मानिसहरू भारतीय नागरिक होइनन् भनेर स्वीकार गर्नु भनेको थियो ।

सन् २०१३ मा युवा विश्व आर्चरी च्याम्पियनसिपमा अरुणाचल प्रदेशका दुई आर्चरी खेलाडीलाई स्ट्यापल्ड भिसा जारी भएपछि भारतले उनीहरूलाई चीन जानबाट रोकेको थियो । 

करिब दुई वर्षअघि जुलाई २०२३ मा चीनको चेङ्दूमा हुने विश्व विश्वविद्यालयस्तरीय खेलहरूमा सहभागी हुन मार्शल आट्र्सका तीन एथलिटहरूलाई पनि यस्तै भिसा जारी गरिएको थियो । यसको विरोधमा पूरै भारतीय टोलीले नै उक्त प्रतियोगितामा भाग लिन इन्कार गरेको थियो । यसको विरोधमा खेलकुद मन्त्री अनुराग ठाकुरले पनि खेलहरूको उद्घाटनका लागि चीनको भ्रमण रद्द गरेका थिए ।

सुरुआत कहिले र कसरी भयो ?
भारत र चीनबीच अरुणाचल प्रदेशको मुद्दामा आखिर विवाद किन छ र यसको सुरुआत कहिलेदेखि भयो ? राजनीतिक विश्लेषकहरू यसको जड ब्रिटिस शासनमा लुकेको बताउँछन् । 

मार्च १९१४ मा शिमला सम्मेलनको दौरान म्याकमोहन रेखाको स्थापना भएको थियो । सम्मेलनमा तिब्बत, चीन र ब्रिटिस शासनका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । यद्यपि, सम्मेलनमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलले म्याकमोहन रेखालाई स्वीकार नगरी मुख्य सम्झौतामा हस्ताक्षर गरेनन् ।

तर, यसका बाबजुद म्याकमोहन रेखालाई नै भारत र तिब्बतबीचको सीमा मानियो । देशको स्वतन्त्रतापछि नै भारतले यसलाई चीनसँग आफ्नो सीमा मान्दै आएको छ ।
 
सन् १९३७ मा सर्भे अफ इन्डियाले प्रकाशित गरेको एक नक्सामा म्याकमोहन रेखालाई तिब्बतसँगको आधिकारिक सीमाको रूपमा देखाइएको थियो । तर, चीन म्याकमोहन रेखालाई मान्दैन । उसले पटक–पटक भारतसँग नयाँ सिराबाट वार्ता गरेर सीमा निर्धारण गर्न दबाव दिँदै आएको छ । 

प्रायः दबाव बढाउने उद्देश्यले उसले कहिले अरुणाचल प्रदेशका धेरै इलाकाहरूको नाम बदल्ने गर्छ त कहिले त्यसलाई आफ्नो नक्सामा देखाउने गर्छ । चीन सरकारले प्रधानमन्त्रीदेखि लिएर बौद्ध नेता दलाई लामाको अरुणाचल भ्रमणमा पनि विरोध जनाउँदै आएको छ ।

गत वर्ष सीमावर्ती इलाका तवाङलाई वर्षको बाह्रै महिना देशका बाँकी भागहरूसँग जोड्ने सेला सुरुङको निर्माण र त्यसको उद्घाटनका लागि शीर्ष नेताहरूको भ्रमणमा पनि उसले आपत्ति जनाएको थियो ।
 
अरुणाचल प्रदेशको तीन हजार ४८८ किलोमिटर लामो सीमा तिब्बतसँग जोडिएको छ । चिनियाँ सैनिकहरूको अक्सर अरुणाचल प्रदेशमा घुसपैठ र स्थानीय युवाको अपहरणको खबरहरू पनि आउने गरेका छन् । इलाकामा धेरैपटक दुवै देशका सैनिकहरूबीच झडप पनि भइसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्रोफेसर जीवन लामा भन्छन्, “अरुणाचल प्रदेश दक्षिण तिब्बतको हिस्सा भएको चीनको दाबीमा कुनै सत्तयता छैन । म्याकमोहन रेखा अनुसार अरुणाचल प्रदेश भारतको हिस्सा हो ।” 

लामा चीन आफ्नो रणनीति अन्तर्गत दबाव सिर्जना गर्ने नियतले नै यसो गर्दै आएको बताउँछन् । यसै कारण हालैका वर्षहरूमा उसले अरुणाचलसँग जोडिएको सीमावर्ती इलाकाहरूमा ठूलो मात्रामा आधारभूत संरचनाको विकास गर्दै आएको छ । यसमा हाइवेदेखि लिएर बुलेट ट्रेन र धेरै नयाँ बाँधहरूको निर्माण समावेश छ । यसमा भारतले पनि जवाफी रणनीति अपनाएको छ । अलजजिराबाट । 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्