काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती दिने विदेशी तत्त्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताएका छन् ।
शनिबार (मंसिर १३) दाङको देउखुरीमा आयोजित एकता सन्देशसभामा उनले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशी तत्त्वसँग लड्न कम्युनिस्ट एकता गरिएको जिकिर गरे ।
जनताको भावना बुझेर साथमा नलिएसम्म दुईतिहाइले पनि केही गर्न नसक्ने ‘जेनजी’ आन्दोलनमा स्पष्ट भएको उनले उल्लेख गरे । दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकोप्टर चढेर भाग्नुपरेको उनको भनाइ थियो ।
जनताले लखेटे पनि केही नेतामा अझै अहंकार र दम्भ नहटेको उनले टिप्पणी गरे । उनले आफूहरूबाट भएका गल्ती–कमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको र अब जेनजीका मुद्दालाई अघि बढाइने बताए ।
सन्देशसभामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राम्रा कुराको निरन्तरता र कमी–कमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए । जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले उल्लेख गरे ।
उनले युवाले अघि सारेका विषयलाई समेत आत्मसात् गर्दै देशले चाहेको समाजवाद स्थापना गरेरै छाड्ने बताए । हिमालयन टेली भ्वाइस