site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाधिवेशन प्रतिनिधि छनोट : सर्वसम्मत, मतदानदेखि धकेलाधकेलसम्म

विराटनगर । नेकपा (एमाले)को ११औँ महाधिवेशनका निम्ति कोसी प्रदेशका पाँच जिल्लामा शनिबार (मंसिर १५) सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

मोरङमा भने प्रतिनिधि छान्न गरिएको निर्वाचनका क्रममा धकेलाधकेल भएको छ । एमाले नेता पर्शुराम बस्नेतलाई धकेलिएपछि केही बेर भनाभन समेत भएको थियो ।

अशक्त मतदातालाई सहयोग गर्ने भन्दै बारम्बार एकैजनाले मत खसाल्न लागेको देखेपछि आफूले प्रतिवाद गरेको बस्नेतले बताए । उनले भने, “म जुत्तामा अल्झिएर केही लरबरिएको हो, धकेलेको हैन ।”

बस्नेत संस्थापन पक्षका नेता हुन् । मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर विनोद ढकालको बाहुल्य छ ।

disfmg-1764429007.jpg
मोरङ पार्टी कार्यालयमा सामान्य विवाद भएको एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए । कोसीका भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका उनले जानकारी दिए ।

मोरङमा मतगणना शनिबारै रातिदेखि सुरु गर्ने तयारी छ । क्षेत्र नम्बर–२ रंगली र ३ को मतगणना बेलबारीमा गरिनेछ । क्षेत्र नम्बर–४ को मतगणना सोमबार (मंसिर १५)देखि सुरु गरिने पार्टीले जनाएको छ ।

तेह्रथुम र खोटाङमा सहमतिमा निम्ति भन्दै मतदानको प्रक्रिया रोकिएको छ । धनकुटामा प्रतिनिधि छनोटका निम्ति मतदानका क्रममा विवाद भएको छ ।

iadsgm-1764429027.jpg
प्रतिनिधि छान्न झापा, मोरङ, सुनसरी,उदयपुर र ओखलढुंगामा मतदान गरिएको छ । खतिवडाले भने, “प्रतिनिधि छनोटका लागि मतदान भएका स्थानहरूका जिल्लामा मतपेटिका संकलन गरी आजबाटै मतगणना सुरु हुन्छ ।” कोसी प्रदेशबाट २२९ महाधिवेशन प्रतिनिधि छानिने खतिवडाले बताए ।

मतदान भएका जिल्लामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावमा उत्रिएका थिए ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्