site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘तेस्रो विश्वबाट अध्यागमन रोक्ने’ ट्रम्पको घोषणापछि शरण प्रक्रिया खुला राख्न राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले अमेरिकामा शरण खोज्नेहरूलाई प्रवेश जारी राख्न र उनीहरूलाई उचित कानुनी प्रक्रिया प्रदान गर्न अमेरिकासँग आग्रह गरेको छ ।

यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै एक अफगानी आप्रवासीको हमलापछि तेस्रो विश्वका देशहरूबाट हुने बसाइँसराइ रोक्ने घोषणा गरेपछि आएको हो । ट्रम्प प्रशासनले सबै शरणसम्बन्धी निर्णयहरू रोक्ने घोषणा पनि गरेको थियो ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले अमेरिकामा शरण खोज्नेहरू अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सुरक्षाको हकदार भएको र उनीहरूलाई उचित कानुनी प्रक्रिया दिइनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीकी प्रवक्ता यूजिन ब्युनले पनि यही सन्देश दोहोर्‍याउँदै सुरक्षा आवश्यक भएका मानिसहरू आउने भएकाले उनीहरूले निष्पक्ष शरण प्रक्रियामा प्रवेश पाउन सक्षम हुनुपर्ने बताइन् ।

उनले अधिकांश शरणार्थीहरू आफ्ना आश्रयदाता देशहरूमा शान्तिपूर्वक बसोबास गर्न पाउनु उनीहरूको अधिकार भएको बताइन् ।

ब्युनले शरणार्थी र शरण चाहनेहरूलाई ग्रहण गर्ने सबै राष्ट्रहरूलाई आफ्नो जिम्मेवारी कायम राख्न एजेन्सीले अपील गरिरहेको बताइन् ।

बुधबार भएको उक्त गोलीकाण्डमा अनुसन्धानकर्ताहरूले सन् २०२१ मा अमेरिका प्रवेश गरेका एक अफगान नागरिक संलग्न रहेको बताएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले अध्यागमनबारे कडा कदमहरू चालेका छन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्