काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको स्टकटनमा भएको गोलीबारीमा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो गोलीबारी एक बच्चाको जन्मदिनको पार्टीको दौरान भएको हो । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार, गोलीबारीमा मारिनेहरूमा दुई बालबालिका पनि समावेश छन् । सान जाओकिन काउन्टी शेरिफले सामाजिक सञ्जाल पोस्टमा बताएअनुसार, मर्नेहरूमा दुई बालबालिका र दुई वयस्क समावेश छन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा यी मानिसहरूलाई निशाना बनाएर हत्या गरिएको जस्तो देखिएको बताएको छ । गोलीबारीको घटना एउटा ब्याङ्क्वेट हलभित्र भएको हो । प्रहरी गोलीबारीको पछाडिको कारण पत्ता लगाउन जुटेको छ ।
प्रहरीले अनुसन्धानका लागि घटनास्थलतर्फ जाने सडकहरूलाई बन्द गरिदिएको छ । यसअघि मिसिसिपीमा भएको अर्को गोलीबारीमा ६ जनाको मृत्यु भएको थियो ।
गएको महिना अमेरिकाको मिसिसिपी डेल्टा क्षेत्रमा पनि गोलीबारीको घटना भएको थियो । दुई फरक–फरक ठाउँमा भएको गोलीबारीमा ६ जनाको मृत्यु भएको थियो र १२ जना अन्य घाइते भएका थिए ।
राज्यका सिनेटर डेरिक सिमन्सले बताएअनुसार, एउटा घटनामा लिल्यान्ड सहरमा हाई स्कूल फुटबल होमकमिङ गेमपछि गोलीबारी भएको थियो । यसमा चारजनाको मृत्यु भयो र चारजना अन्य घाइते भए । त्यसैगरी, अर्को घटना हाइडलबर्ग सहरमा हाई स्कूल होमकमिङ सप्ताहन्तको दौरान विद्यलय परिसरमा गोलीबारी भएको थियो, जसमा दुईजनाको मृत्यु भएको थियो ।