काठमाडौं । हङकङमा भीषण आगलागीपछि तीन दिनको शोक घोषणा गरिएको छ । आगलागीमा परी १२८ जनाको मृत्यु भएको छ । २०० जना बेपत्ता छन् । यो घटनापछि चीनले देशका गगनचुम्बी भवनमा अग्नि सुरक्षा उपायको जाँच थालेको छ ।
शनिबार हङकङका उच्च अधिकारीले सरकारी मुख्यालयबाहिर तीन मिनेट मौनधारण गरेका थिए । त्यहाँ हङकङका प्रमुख कार्यकारी प्रमुख (चिफ एक्जिक्युटिभ) जोन ली पनि सहभागी थिए ।
शोकअन्तर्गत हङकङमा सोमबारसम्म सरकारी भवनहरूमा देशको झन्डा आधा झुकाइनेछ ।
बुधबार हङकङको ताई पो डिस्ट्रिक्टको वाङ फुक कोर्ट हाउजिङ इस्टेटमा आगलागी सुरु भएको थियो । आगो यति भीषण थियो कि त्यसलाई निभाउन दमकलकर्मीलाई ४० घण्टाभन्दा बढी समय लागेको थियो ।
अधिकारीहरूले आगो कसरी लाग्यो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् । हङकङमा यो विगत ७५ वर्षमा लागेको सबैभन्दा भीषण आगो हो ।
हङकङ सरकारले पीडितको मद्दतका निम्ति तीन करोड ८५ लाख डलरको एक कोष बनाएको छ ।
चीनले उक्त घटनापछि देशमा बहुतले भवनहरूमा आगलागीबाट बच्ने सुरक्षा उपायको जाँच सुरु गरेको छ ।
कुल आठमध्ये सात भवन आगलागीको चपेटामा परेको थियो । शुक्रबार बिहान मात्र आगालागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
यसअघि, सन् १९४८ मा हङकङमा एउटा गोदाममा आगलागी भएको थियो । उक्त घटनामा १७६ जनाले ज्यान गुमाएका थिए ।