काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संविधानानुसार गैरआवासीय नेपाली नागरिकता पाए पनि नचलेको गुनासो गरेका छन् । आइतबार (मंसिर १४) सिंहदरबारमा आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
गैरआवासीय नेपाली नागरिकता नचल्नु देशको कमजोरी भएको उनले उल्लेख गरे । उनले आफूले दिएको कागज आफ्नै देशमा नचल्दा गैरआवासीय नेपालीले आर्थिक कारोबार गर्न नपाएको बताए ।
उनले गैरआवासीय नेपालीको जग्गाजमिन पासलगायत काम प्रभावित भएको सुनाए । यो समस्या छिट्टै समाधान गर्न उनले सरकारसँग आग्रह गरे ।
उनले गैरआवासीय नेपाली संघले खडा गरेको एनआरएनए नेपाल डेभलभमेन्ट फन्ड कानुनको अभावमा सञ्चालनमा ल्याउन नसकेको बताए । १०० मिलियन डलरको उक्त फन्ड सञ्चालनका निम्ति सामान्य निर्देशिका समेत सरकारले बनाउन नसकेको उनको आरोप छ ।
उनले वर्तमान सरकारले सानोतिनो निर्देशिका परिवर्तन गरेर संयुक्त लगानीको वातावरण अब छिट्टै बनाउनेमा आफू आशावादी रहेको बताए ।
गैरआवासीय नेपाली संघमा आएको विभाजनका कारण आफूहरूका मुद्दा नै कमजोर बनेको उनको भनाइ थियो ।
विभाजनका चार वर्षमा ठूलो समस्या भोगेको उनले उल्लेख गरे । उनले सबैको अस्तित्व स्वीकार गरी अब कहिल्यै विभाजन नहुने गरी एकता गरिएको बताए । विभाजन गर्नै नमिल्ने गरी कानुनी व्यवस्था गर्न सरकारसँग उनले माग पनि गरे । न्युज एजेन्सी नेपाल