सुर्खेत । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनोट भएका छन् । यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि पार्टीको कर्णाली प्रदेश कमिटीले प्रतिनिधिहरूको टुंगो लगाएको हो ।
कर्णालीका १० वटै जिल्लाबाट सर्वसम्मतिका आधारमा प्रतिनिधि चयन गरिने भनिएको थियो । तर, केही जिल्लामा विवाद भयो । केही जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ ।
रुकुम पश्चिममा निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गरियो । कालीकोट, सल्यान, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ र हुम्लामा प्रतिनिधि छनोटका क्रममा विवाद भएको एमालेका असन्तुष्ट नेताको भनाइ छ ।
कर्णाली प्रदेश कमिटीका उपसचिव पद्मा खड्काका अनुसार, यहाँ एमालेका ४७ हजार संगठित सदस्य छन् । गएको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयानुसार प्रतिनिधि छनोट गरिएको उनले जानकारी दिइन् ।
११औँ महाधिवेशनका निम्ति हुम्लाबाट पाँच, दैलेखमा २२, कालीकोटबाट आठ, सुर्खेतमा २०, मुगुबाट पाँच, जाजरकोटमा १०, जुम्लाबाट ६, डोल्पामा आठ, रुकुम पश्चिमबाट पाँच, सल्यानबाट आठ प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।
यस्तै, मजदुर संगठनबाट सात, कर्णाली सम्पर्क मञ्चबाट चार र प्रदेश पार्टी कमिटीबाट पाँच प्रतिनिधि चयन गरिएको छ ।
पार्टीका अनुसार, करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
एमाले कर्णाली अध्यक्ष गुलाफजंग शाहले पार्टीभित्रका असन्तुष्टले बाहिर विवादको हल्ला फैलाएको जिकिर गरे । कर्णालीमा रुकुम पश्चिमबाहेक सबै जिल्लामा सर्वसहमतिका आधारमा प्रतिनिधि छानिएको उनले बताए ।
तर, एमाले कर्णाली प्रदेश समिति सदस्य पार्वती सिंहले सहमतिका नाममा सिनियर नेतालाई ‘तल’ छाडेर प्रतिनिधि चयन गरिएको भन्दै असन्तुष्टि जनाइन् । “प्रतिनिधि छनोट गर्दा चुनावी प्रक्रियामा जाँदा पार्टीलाई आर्थिक व्ययभार धेरै पर्ने भएकाले हामीले प्रतिनिधि छनोटको केही नम्स बनाएर दिएका थियौँ, तर नेताहरूले यस्तो गर्नु भएन,” सिंहले भनिन्, “तर पनि पार्टीको आन्तरिक कुरा हो, स्वीकार गर्नुबाहेक अरू विकल्प छैन ।”
कालीकोटमा एमाले नेता नेसनल शाहीले प्रतिनिधि छनोट गर्दा उमेदवारी दर्ता गराइए पनि घोषणा फेसबुकमार्फत गरिएको आरोप लगाएका छन् ।
हुम्लामा पनि एमालेनिकट महिला संगठनको सहमतिबिना प्रतिनिधि छनोट गरिएको आरोप छ । तर, हुम्लाबाट प्रतिनिधिको ‘फाइनल लिस्ट’ प्रदेश कार्यालयमा प्राप्त हुन बाँकी रहेको एमालेले जनाएको छ ।