site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खड्कासँग ‘कुरा मिलेन’, देउवा निवासमा संस्थापन पक्षको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनतर्फका वैशाखमा महाधिवेशन पक्षधर र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच समझदारीको प्रयास असफल भएको छ ।

कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वयसँगको समझदारीमा आउँदो पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पारेका थिए । उक्त कार्यतालिकामा उनले संस्थापन पक्षभित्र सहमति खोजेका थिए ।

सोमबार (मंसिर १५) बिहानै खड्काले संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवसहित वैशाखमा महाधिवेशन गर्नुपर्ने भन्दै अडान लिएका केन्द्रीय सदस्यहरू किरण पौडेल, जितजंग बस्नेत र गुरु बराललाई पार्टी कार्यालयमा बोलाएर छलफल गरेका थिए ।

तर, विशेष महाधिवेशन पक्षधरले प्रस्ताव फिर्ता नलिए पुसको तालिकाको अर्थ नहुने उनीहरूले बताए । उक्त प्रस्ताव फिर्ता नलिइए वैशाखमा महाधिवेशन गर्नुपर्ने आफूहरूको अडान कायमै रहने उनीहरूले खड्कालाई सुनाएका एक नेताले जानकारी दिए ।

कार्यवाहक सभापतिसँग कुरा नमिलेको जानकारी पाएपछि सभापति शेरबहादुर देउवाले सात पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्यलाई आफ्नो निवासमा डाकेका छन् । काठमाडौंको महाराजगन्जस्थित देउवा निवासमा खड्कासँग छलफल गरेर फर्किएका नेताहरूसहित अधिकांश पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्