काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अर्को एक ठूलो झट्का लागेको छ । भ्रष्टाचार नियन्त्रण आयोग (एसीसी)द्वारा हसिनालाई हालसम्म चार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ ।
अदालतले पुरबचल न्यु टाउन प्रोजेक्टमा राजधानी विकास प्राधिकरण (राजुक)को प्लट बाँडफाँटमा भएको अनियमितताको मुद्दामा हसिना, उनकी बहिनी शेख रेहाना र रेहानाकी छोरी तथा बेलायती सांसद ट्युलिप सिद्दीकलाई दोषी ठहर गर्दै कारावासको सजाय सुनाएको छ ।
अदालतले फैसला सुनाउँदै हसिनाले प्रधानमन्त्रीका रूपमा राज्यको अधिकारको दुरुपयोग गरी अवैध तरिकाले प्लटहरू प्राप्त गरेको जनाएको छ ।
एसीसीका अनुसार, हसिनाले वरिष्ठ राजुक अधिकारीहरूसँग मिलेर पुरबचलको सेक्टर २७ को डिप्लोमेटिक जोनमा ६ प्लट (प्रत्येक १० कट्ठा) अवैध रूपमा बाँडफाँट गराएकी थिइन् । त्यो ढाका इम्प्रुभमेन्ट ट्रस्ट (जग्गा बाँडफाँट) नियम, १९६९ को उल्लंघन हो ।
उक्त कार्यमा हसिनाका छोरा साजिब वाजेद जय, छोरी साइमा वाजेद पुतुल, बहिनी रेहाना, रेहानाकी छोरी ट्युलिप रिजवाना मुजीब सिद्दीकको नाम पनि संलग्न छ ।
हसिनाले यसअघिदेखि नै धेरै कानुनी चुनौतीको सामना गरिरहेकी छन् । उनकी बहिनी र भतिजी पनि यो मुद्दामा फस्नु परिवारका निम्ति ठूलो समस्या बनेको छ ।