विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले अब सरकारमा जाँदा किसान र कृषि क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका छन् । 'स्वर्ग जस्तो देश नर्क'झैँ भएको भन्दै जेनजी आन्दोलनले देश खरानीमा परिणत भएको बताएका छन् । धेरै सम्भावना भएर पनि देशले प्रगति गर्न नसकेको सुनाए ।
विराटनगरमा सोमबार आयोजित पार्टीको एकता सभामा बोल्दै खनालले खाडीमा जान युवा बाध्य भएको भन्दै देशमा नै धेरै औद्योगिक विकास गर्न सकिने बताए । उनले भने, ‘‘नयाँ ढंगले देशमा औद्योगीकरण आवश्यक छ, रोजगारी बढाउने गरी काम गर्न आवश्यक छ ।’’ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले कम्युनिस्ट एकता टाउको जोडेरमात्र नभई सिद्धान्तनिष्ट र उद्देश्यको हुने बताए ।
चारवटा आधारले पार्टी एकता भएको उनले उल्लेख गरे । खनालले अब नेपाली विशेषताको समाजवाद आवश्यक रहेको भन्दै त्यो बाटो क्रान्तिकारी भएको सुनाए । उनले भने, ‘‘एमाले शैलीले समाजवादको बाटोमा जान सकिँदैन । हामीले नै बनाएको पार्टी हो तर दक्षिणपन्थी बाटो लियो, ठिक बाटोमा छैन ।’’ चुनाव अपरिहार्य भएको भन्दै खनालले यसको सही ढंगको तयारी हुनुपर्ने सुझाव दिए ।