site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसले दुई युक्रेनी सहर कब्जा गरेको पुटिनको दाबी, युक्रेनद्वारा खण्डन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका पोक्रोभ्स्क र भोभ्चान्स्क दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताको विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुने भेटअघिल्लो रात पुटिनले यो दाबी गरेका हुन् ।

यो दाबीको उद्देश्य रुस अगाडि बढिरहेकाले सम्झौता गर्नुपर्ने कुनै आवश्यकता नरहेको सन्देश दिनु रहेको एबीसी न्युजले जनाएको छ ।

तर, युक्रेनको सेनाले पुटिनको दाबीलाई झुटो भन्दै खण्डन गरेको छ । फ्रन्टलाइनका सिपाहीहरूले पनि एबीसीलाई ती दाबी गलत भएको बताएका छन् ।

पुटिन र रुसी सेनाले यसअघि पनि युक्रेनी सहरहरू समयभन्दा अगाडि नै कब्जा गरेको दाबी पटक–पटक गर्दै आएका छन् ।

पोक्रोभ्स्क युक्रेनको लागि एक महत्वपूर्ण रक्षात्मक किल्ला हो । रुसले ठूलो मूल्य चुकाएर एक वर्षभन्दा बढी समयदेखि यो सहर कब्जा गर्ने प्रयास गरिरहेको छ ।

स्वतन्त्र सैन्य विश्लेषकहरू र मैदानमा रहेका युक्रेनी सैनिकहरूका अनुसार, विगत एक महिनामा रुस यो ध्वस्त सहर कब्जाको नजिक पुगे पनि युक्रेनी सेनाले अझै पनि क्षेत्रलाई नियन्त्रणमा राखिरहेको छ । र, यो सहर पूर्ण रूपमा नगुमेको बताइएको छ ।

भोभ्चान्स्क क्षेत्र युक्रेनको खार्किभ क्षेत्रमा, रुसको सिमाना नजिक अवस्थित छ । रुसले त्यहाँ पनि महिनौंदेखि आक्रमण गरिरहे पनि निर्णायक रूपमा कब्जा गर्न सकेको छैन ।

युक्रेनी संयुक्त सेनाका सञ्चार प्रमुख भिक्टर त्रेगुबोभले रुसको दाबीबारे सोधिएको प्रश्नमा एबीसी न्यूजलाई युक्रेनी सशस्त्र बलहरू भोभ्चान्स्कको दक्षिणी भागमा आफ्नो अडान कायम गरिरहेको बताएका छन् । उनले भने, “सहर कब्जा गरिएको छैन, तर यो अब अस्तित्वमा छैन ।”

त्रेगुबोभले रुसीहरू भग्नावशेषहरूबाट र सहरको पश्चिमतिर धकेलिँदै गएको बताएका छन् । 

पुटिनले हालसालै कुपियान्स्क सहर पनि युक्रेनबाट खोसेको बारम्बार दाबी गरेका छन् । तर, अहिले युक्रेनले रुसलाई त्यहाँबाट निकाल्न नजिक पुगेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले सोमबार आफ्नो टेलिग्राम च्यानलमा एक सिपाहीले पोक्रोभ्स्कमा रुसी झण्डा फहराएको भिडियो सेयर गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्