काठमाडौं । विश्वका सबैभन्दा ठूला हतियार उत्पादक कम्पनीहरूको हतियार र सैन्य सेवाहरूको बिक्रीबाट हुने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ ।
युक्रेन र गाजामा भइरहेको युद्धका साथै देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढेपछि यो आम्दानी ६७९ अर्ब डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम रेकर्ड भएको एपीले जनाएको छ ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, आम्दानीमा भएको वृद्धि धेरैजसो युरोप र अमेरिकामा आधारित कम्पनीहरूको कारण भएको हो । चीनको हतियार उद्योगमा देखिएका समस्याहरूका कारण एसिया र ओसिनियाबाहेक विश्वभर आम्दानी बढेको छ ।
विश्वव्यापी आम्दानी वृद्धि
अमेरिकाका शीर्ष १०० मा रहेका ३९ अमेरिकी कम्पनीमध्ये ३० वटाले आम्दानीमा वृद्धि गरेका छन् । यसमा लकहिड मार्टिन, नथ्र्रोप ग्रुम्यान, र जनरल डाइनामिक्स समावेश छन् । उनीहरूको संयुक्त आम्दानी ३.८ प्रतिशतले बढेर ४३३४ अर्ब पुगेको छ । यद्यपि। इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले एफ–३५ लडाकु जेटसहितका प्रमुख अमेरिकी नेतृत्वका कार्यक्रमहरूमा ढिलाइ र बजेट कटौतीले उत्पादनमा असर पारिरहेको उल्लेख छ ।
युरोप महादेशले खर्च बढाएपछि रुसबाहेकका युरोपका २६ कम्पनीमध्ये २३ वटाले हतियारको आम्दानी बढाएको देखिएको छ । रुस–युक्रेन युद्ध र रुसबाट रहेको खतराका कारण बढेको मागले उनीहरूको आम्दानीमा १३ प्रतिशतले बढेर चार हजार १५१ अर्ब पुगेको छ ।
चेक गणतन्त्रको चेकोस्लोभाक समूहको आम्दानी १९३ प्रथितशतले बढेको छ, जुन आंशिक रूपमा युक्रेनका लागि तोपका गोलाहरू जुटाउने सरकारी नेतृत्वमा सञ्चालित परियोजनाका कारण भएको हो ।
युक्रेनको जेएससी युक्रेनी रक्षा उद्योगले पनि ४१ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको एपीले जनाएको छ ।
रुसको एसआईपीआरआईको सूचीमा रहेका रुसी कम्पनी रोस्टेक र युनाइटेड शिपबिल्डिङ कर्पोरेसनको हतियार आम्दानी नाकाबन्दीका कारण ‘कम्पोनेन्ट’को अभाव भए पनि २३ प्रतिशतले बढेर संयुक्त रूपमा ४३१.२ अर्ब पुगेको छ ।
एसआईपीआरआईले आन्तरिक मागले हतियार निर्यातमा आएको गिरावटलाई पूर्ति गर्न पर्याप्त भएको तर कुशल श्रमशक्तिको अभाव भने चुनौती रहेको बताएको छ ।
मध्यपूर्वमा पनि हतियारको आम्दानी बढेको र र्याङकिङमा रहेका तीन इजरायली कम्पनीहरूको आम्दानी १६ प्रतिशतले बढेर ४१६.२ अर्ब पुगेको छ । एसआईपीआरआईका अनुसन्धानकर्ता जुबैदा करिमका अनुसार, गाजामा इजरायली कार्यका विरुद्धका प्रतिक्रियाले इजरायली हतियारप्रतिको रुचिमा धेरै प्रभाव नपारेको देखिएको छ । धेरै देशहरूले नयाँ ‘अर्डर’हरू गरिरहेका छन् ।
एसिया र ओसिनियामा गिरावट
एसिया र ओसिनियामा आम्दानी १.२ प्रतितशतले घटेर चार हजार १३० अर्ब पुगेको छ । यसको मुख्य कारण सूचकांकमा रहेका आठ चिनियाँ कम्पनीहरूको आम्दानी दश प्रतिशतले घट्नु हो । एसआईपीआरआईका अनुसार, चिनियाँ हतियार खरिदमा भ्रष्टाचारको आरोपका कारण गत वर्ष प्रमुख ठेक्काहरू ढिलाइ वा रद्द भएका थिए । एपीबाट ।