काठमाडौं । ‘ब्ल्याक सी’मा दुई रुसी तेल ट्यांकरमाथि युक्रेनले गरेको पानीमुनिको ड्रोन हमलापछि रुस–युक्रेन द्वन्द्वले खतरनाक मोड लिएको छ ।
हमलाको प्रतिक्रिया दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्ता हमला जारी रहे रुसले युक्रेनका सम्पूर्ण समुद्री सम्पर्कविच्छेद गर्ने चेतावनी दिएका छन् ।
रुसी समाचार एजेन्सी टासकोअनुसार पुटिनले यो हमलालाई ‘समुद्री डकैती’ भन्दै युक्रेनलाई समर्थन गर्ने देशका जहाजरूमाथि पनि जवाफी कारबाहीको धम्की दिएका छन् ।
उनले भने, “रुसी तेल ट्यांकरमाथिको युक्रेनी हमला सामुद्रिक डकैती हो । रुसले अब युक्रेनी बन्दरगाह र त्यहाँ आवतजावत गर्ने जहाजमाथि आफ्ना हमला बढाउनेछ ।”
रुसी तेल यातायातमा ठूलो प्रहार
गत शुक्रबार र शनिबार युक्रेनी सुरक्षा सेवा (एसबीयू) र नौसेनाले संयुक्त रूपमा ‘सी बेबी’ समुद्री ड्रोनबाट रुसी दुई ट्यांकर ‘भिराट’ र ‘क्यारोस’ माथि हमला गरेका थिए । युक्रेनी स्रोतका अनुसार दुवै जहाजमा गम्भीर क्षति पुगेको छ । यसले रुसको तेल यातायातमा ठूलो असर पार्ने देखिन्छ ।
यी दुवै ट्यांकर पहिले नै पश्चिमीको प्रतिबन्धित सूचीमा परेका थिए । ‘भिराट’ माथि अमेरिका, ब्रिटेन र युरोपेली संघले पहिले नै प्रतिबन्ध लगाइसकेका थिए भने ‘क्यारोस’ले रुसी कच्चा तेल ढुवानी गर्ने गथ्र्यो ।