site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जब १३ वर्षीय बालकले ८० हजार मानिससामु गोली चलाए...

काठमाडौं । अफगानिस्तानको खोस्त प्रान्तमा मंगलबार स्टेडियममा ८० हजार मानिससामु एक अपराधीलाई गोली हानिएको छ । अमु न्युजका अनुसार १३ वर्षीय बालकले गोली चलाएर अपराधीलाई मृत्युदण्ड दिएका हुन् ।

बालकले जसलाई गोली चलाए, ती व्यक्तिमाथि उनको परिवारका १३ जनाको हत्या गरेको आरोप थियो । हत्या हुनेमा बालबालिका तथा महिला थिए ।

मृत्युदण्ड दिनुअघि तालिबान अधिकारीहरूले ती बालकलाई आरोपीलाई माफी दिन चाहन्छौ ? भनेर सोधेका थिए । तर, बालकले यो प्रस्ताव ठाडै इन्कार गरेका थिए । त्यसपछि ती अधिकारीले बालकको हातमा बन्दुक राखिदिएर सामुन्ने उभिएको अपराधीमाथि गोली चलाउन निर्देशन दिएका थिए।

मर्ने र मार्ने दुवै आफन्त 

तालिबानको सर्वोच्च अदालतका अनुसार मारिएका व्यक्ति मंगल खान थिए । उनले अब्दुल रहमान नामक व्यक्तिको हत्या गरेका थिए ।

खोस्तका प्रहरी प्रवक्ता मुस्तगफिर गोरबाजका अनुसार, मर्ने र मार्ने दुवै आफन्त हुन् । यो मामिलामा अन्य दुई दोषीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । यद्यपि, पीडितका केही वारेसहरू समयमै उपस्थित नभएकाले उनीहरूलाई फाँसी दिइएन ।

एक दिनअघि तालिबान समूहले सार्वजनिक सूचना जारी गरी यो घटना हेर्न खोस्तस्थित सेन्ट्रल स्टेडियममा भेला हुन भनेको थियो ।

मंगल खानलाई मृत्युदण्ड दिइएपछि तालिबानको सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै ‘ज्यानको बदला ज्यानकै सजाय’का रूपमा हत्यारालाई मारिएको बताएको छ ।

पक्तिया प्रान्तका खान खोस्तमा बसोबास गरिरहेका थिए । उनले खोस्तकै अब्दुल रहमान, साबित र अली खानको हत्या गरेका थिए ।

हत्याको समयमा स्टेडियममा सर्वोच्च अदालतका मुख्य न्यायाधीश, खोस्तका राज्यपाल (गभर्नर), खोस्त अपिल कोर्टका प्रमुख, अन्य सरकारी अधिकारी तथा ठूलो संख्यामा मानिस उपस्थित थिए ।

सन् २०२१ को अगस्त १५ मा तालिबानले अफगानिस्तानको सत्तामा पुनः कब्जा गरेपछि कुनै व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको यो ११औँ पटक हो । अमु टीभीका अनुसार पछिल्ला चार वर्षमा तालिबानको सर्वोच्च अदालतले १७६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

तालिबानको कानुनमा हत्या, व्यभिचार र चोरीजस्ता अपराधमा मृत्युदण्ड, अंग काट्ने वा कोर्रा हान्नेजस्ता सजाय हुने व्यवस्था छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्