काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन् ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा समाजका सबै पक्षले जागरुक भएर लाग्नुपर्ने बताएकी उनको सचिवालयले जानकारी दिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र कम खर्चिलो बनाउन सरकार लागिपरेको र त्यसका लागि राजनीतिक प्रतिबद्धताका साथै नागरिक तहबाट पनि उत्तिकै खबरदारी आवश्यक रहेको उनले बताइन् ।
"यतिखेर मुलुकमा शान्ति, स्थिरता, सामाजिक धार्मिक सद्भाव आवश्यक छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । यस्तो अवस्थामा समाजका सबै तह र तप्काबाट सकारात्मक भूमिकाको अपेक्षा राखेका छौँ," उनले भनिन् ।
कार्यक्रम पूर्वमन्त्री विध्याधर मल्लिक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको पनि उपस्थिति थियो ।