site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशन : प्रतिनिधिको विवरण डिलिटलाइज गरिँदै, उजुरीमाथि  अध्ययन जारी

काठमाडौं । नेकपा (एमाले)ले ११ महाधिवेशन प्रतिनिधिको विवरण डिजिटलाइज गर्ने भएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार भूगोलबाट छानिएका प्रतिधिहरूको विवरण फोटोसहित अनलाइन माध्यममा राख्ने गरी समन्वय गर्न प्रदेश कमिटीलाई जिम्मा दिइएको छ । 

मंसिर १३ गते प्रतिनिधि छनोट गरी १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिइएको थियो । तर, प्रदेशमा विवरण संकलन गरी अनलाइन प्रणालीमा राख्ने काम भइरहेको अधिकारीले बताए । 

“भूगोलको प्रतिनिधिहरूको विवरण प्रदेशमा आएका छन् । प्रदेश–प्रदेशले नै समन्वय गरेर समग्र फोटोसहितको विवरण अनलाइन प्रणालीमा राख्ने गरी काम भइरहेको छ,” अधिकारीले बाह्रखरीसँग भने । 

गैरभौगोलिक जिल्ला कमिटी, गैरभौगोलिक प्रदेश कमिटी, विभाग, जनसंगठन पदेन सदस्य, प्रवासलगायतका प्रतिनिधिको विवरण डिजिटलाइज गर्ने काम केन्द्रबाटै भइरहेको उनले बताए । 

विवरण एकीकृत भएपछि पार्टीको वेबसाइटबाट सार्वजनिक गर्ने तयारी एमालेको छ । 

प्रतिनिधि छनोटका क्रममा आएको विवाद पनि समाधानको चरणमा रहेको र यसैबारे परेका उजुरीको अध्ययन भइरहेको उनले बताए । 

“विवाद भएका जिल्ला ओखलढुंगा र धनकुटाका लागि पत्राचार गरिरहेका छौं । केन्द्रको निर्देशनअनुसार नै काम गरिरहनुभएको छ उनले भने, “अन्य ठाउँबाट पनि विभिन्न खालका निवेदन आएका छन् । त्यो केलाएर हेरिरहेका छौं ।” 

एमालेको महाधिवेशन मंसिर २७–२९ सम्म हुँदै छ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ । अध्यक्षमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै छ ।

प्यालनगत प्रतिस्पर्धाका लागि दुवै पक्ष महाधिवेशन प्रतिनिधि को–कसका हुन् भनी केलाउँदै छन् ।  
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्