काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा हस्ताक्षरकर्ताहरूले भेला गर्दै छन् । नियमित महाधिवेशनको मिति वैधानिक अवधिभित्रै तोकेकोमा केन्द्रीय समितिलाई धन्यवाद दिँदै खबरदारी गर्न लागेको प्रमुख अभियान्ता गुरुराज घिमिरेले जानकारी दिए ।
उनले केन्द्रीय समितिलाई तोकिएको मितिमा सम्पन्न हुनेगरी प्रक्रिया अघि बढाउन र कुनै अवरोध हुने अवस्था आउन नदिन आग्रह गर्न लागेको जानकारी दिए ।
“अहिलेसम्मको पहलका लागि हस्ताक्षरकर्ताहरू र निरन्तरको दबाबमा सहभागीहरू धन्यवादका हकदार हुन्, सँगै विशेष महाधिवेशनको वैधानिक अवधिभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याएकोमा केन्द्रीय समितिलाई पनि धन्यवाद दिनु उचित हुन्छ,” घिमिरेले बाह्रखरीसँग भने, “तर, यसलाई रणनीतिक उपयोग गर्न कसैले खोज्छ भने विशेष महाधिवेशनको प्रस्ताव वैधानिक रूपमा कायम छ भन्ने खबरदारी पनि हो ।”
भेलामा अभियान्तासँगै समर्थक र सुभेच्छुकहरू पनि सहभागी हुने उनले बताए । अभियानमा सहभागीहरूले अहिले दिउँसो १ बजेका लागि नेता कार्यकर्तालाई मध्येबानेश्वरस्थित आनन्द इभेन्ट्समा डाकेका छन् ।