काठमाडौं । एघारौँ महाधिवेशनको संघारमा अध्यक्षको तयारी गरिरहेका नेता ईश्वर पोखरेलको टिमले गण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
ईश्वर पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई गुण्डु पुगेका थिए । महाधिवेशनका विषयमा करिब तीन घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
एघारौँ महाधिवेशनमा तेस्रोपटक अध्यक्षमा लड्ने घोषणा गरेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिने घोषणा गरेका छन् । दुवै पक्षमा टिम निर्माणको काम भइरहेको छ ।
ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेताहरूलाई ‘इङगेज’ गर्ने रणनीति लिएका छन् । पोखरेललाई पनि उतै अवसरको अपेक्षामा रहेका नेताहरूले खुलेर साथ नदिँदा दुई पक्षमा रहने नेताहरू अझै खुलिसकेका छैनन् ।
ओलीले आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने बताएका छन् । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर ओलीलाई चुनौती दिने गृहकार्यमा छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेले सदस्यता नदिएपछि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएकी छन् । उनले ईश्वर पोखरेललाई ११औँ महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बनाउनेगरी गरेको भद्र सहमतिबाट ओली ‘व्याक’ भएको पनि खुलासा गरेकी छन् ।