site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसंघको माग

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभाले युक्रेनी बालबालिकाहरूलाई जबरजस्ती रूसमा नराखी तत्काल बिनासर्त फिर्ता गर्न आह्वान गरेको छ । साथै यो सवाल किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबैभन्दा संवेदनशील विषय भएको पनि बताएको छ ।

महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिनासर्त फिर्तिको आवश्यकतालाई पुष्टि गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ वटा देशले यसको विरुद्धमा मतदान गरेको र ५७ देश अनुपस्थित रहेको जनाइएको छ ।

महासभाले मस्कोलाई निर्दोष बालबालकिको जबरजस्ती स्थानान्तरण, निर्वासन र पारिवार विहिनता रोकी पालन पोषणको माध्यमबाट बालबालिकाको कानुनी स्थिति परिवर्तन नगर्न  आह्वान गरेको छ ।

युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा रूसले युद्ध सुरु भएदेखि कम्तिमा २० हजार युक्रनी बच्चाहरूलाई अपहरण गरेको बताउँदै अहिलेसम्म एक हजार ८५० भन्दा बढी बालबालिका युक्रेनमा फर्काइएको उल्लेख गरेका छन् ।

युक्रेनी बालबालिकाहरू तत्काल बिनासर्त घर फर्किए मात्र युक्रेनमा न्यायपूर्ण शान्ति हुने बेत्साले बताए । यसको प्रतिक्रियामा, रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गरी यो आरोप झुटो भन्दै प्रस्तावको विरोध गरेका छन् । रासस/क्यूएनए

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्