काठमाडौं । सन् २०२२ मा युक्रेनसँग युद्ध सुरु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमित विदेश भ्रमण गरेका छन् । युद्ध सुरु भएपछि पहिलोपटक उनी भारत आउँदै छन् । चार वर्षपछि हुन लागेको यो भ्रमणलाई अमेरिका, युक्रेन र युरोपेली मुलुकहरूले नजिकबाट हेरिरहेका छन् ।
स्मरणीय कुरा के छ भने, युक्रेनमाथि आक्रमण गर्नुअघि पुटिनले आफ्नो शासनकालमा फ्रान्स, इङ्गल्यान्ड, अस्ट्रिया र अमेरिकाजस्ता मुलुकहरू पटक–पटक भ्रमण गर्ने गर्थे । तर, आक्रमणपछि उनका भ्रमणहरू बेलारूस, उत्तर कोरिया, भियतनाम र चीनजस्ता देशहरूमा सीमित भएका छन्, किनकि पश्चिमी देशहरूले रूसलाई विश्वस्तरमा एक्ल्याउने प्रयास तीव्र रूपमा गरिरहेका छन् ।
पुटिनका विदेश भ्रमण सीमित हुनुमा अर्को प्रमुख कारण सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको गिरफ्तारी वारेन्ट पनि हो । अदालतको अधिकार मान्यता दिने देशहरूमा पुटिन जान सकेका छैनन् । अमेरिका आईसीसीको सदस्य नभएकाले अमेरिकाले पुटिनलाई गिरफ्तार गर्न सक्दैन । यही कारण सन् २०२५ अगस्टमा उनी अलास्काको भ्रमणमा पुगे, जुन सन् २०१५ पछि अमेरिकाको उनको पहिलो भ्रमण थियो । त्यसमाथि, युक्रेन युद्ध सुरु भएपछि कुनै पनि पश्चिमी मुलुकको यो उनको पहिलो यात्रा पनि थियो । हालसम्म उनका भ्रमणहरू मुख्यतया पूर्व–सोभियत देश र केही एसियाली मुलुकहरूमा मात्र सीमित छन् ।
फेब्रुअरी २०२२ मा युद्ध सुरु भएपछि पुटिनले पहिलोपटक जुन २८–२९ मा ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरे । क्यास्पियन सागरसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुँदै उनले क्षेत्रीय सहयोगबारे छलफल गरे । त्यसपछि जुलाई १९ मा उनी इरान पुगे, जहाँ इरान र टर्कीका शीर्ष नेताहरूसँग भेट गरी सिरियाको अवस्थाबारे चर्चा भयो ।
सोही वर्ष सेप्टेम्बर १५–१६ मा पुटिन उज्बेकिस्तानको ताशकन्दमा आयोजित शंघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी भए र यिनै अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग युद्धपछि पहिलो भेट भयो । अक्टोबर १३–१४ मा कजाकिस्तानमा एसियाली शान्ति तथा सुरक्षासम्बन्धी सम्मेलनमा सहभागी भए भने नोभेम्बर २३ मा आर्मेनियामा कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसनको बैठकमा उपस्थित रहे । त्यसैगरी डिसेम्बर ९ मा किर्गिस्तान र डिसेम्बर १९ मा बेलारूसको भ्रमण गरी क्षेत्रीय रणनीतिक सहकार्यबारे छलफल गरे ।
सन् २०२३ मा पुटिन अक्टोबर १२–१३ मा किर्गिजस्तानमा भएको कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्सको बैठकमा सहभागी भए । त्यसपछि अक्टोबर १७–१८ मा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी भए, जुन बेइजिङद्वारा मस्कोलाई दिइएको कुटनीतिक समर्थनको संकेतका रूपमा हेरियो । नोभेम्बर ९ मा कजाकिस्तान, नोभेम्बर २३ मा बेलारूस र डिसेम्बर ६ मा साउदी अरब तथा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी उनले आर्थिक र भू–राजनीतिक सन्तुलन मजबुत बनाउने प्रयास जारी राखे ।
सन् २०२४ मा मे १६–१७ मा पुटिन पुनः चीनको भ्रमणमा गए, जहाँ रूस–चीन रणनीतिक साझेदारी र अमेरिकी प्रभावको विकल्पबारे छलफल भयो । मे २३–२४ मा उनले बेलारूसको भ्रमण गरे र मे २६–२८ मा उज्बेकिस्तानमा पहिलो आणविक ऊर्जा प्लान्ट निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरे । जुन १८–१९ मा प्योङयाङमा उत्तर कोरियासँग व्यापक रणनीतिक साझेदारी सन्धि गर्दै परस्पर सैन्य सहयोगको प्रावधान राखियो । त्यसपछि जुन १९–२० मा भियतनामका राष्ट्रपति तो लामसँग बहुअपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरे । जुलाई ३–४ मा उनी कजाकिस्तानको अस्तानामा एससीओको वार्षिक बैठकमा सहभागी भए ।
अगस्ट १८–१९ मा पुटिनले अजरबैजानको बाकु भ्रमण गरी व्यापार मार्गहरू सुरक्षित गर्ने उद्देश्य राखे । सेप्टेम्बर २–३ मा उनी मंगोलिया पुगे, जहाँ मंगोलियाले आईसीसी वारेन्टलाई बेवास्ता गरेको कारण यो यात्रा चर्चा बनेको थियो । अक्टोबर ११ मा तुर्कमेनिस्तानमा आयोजित एक अन्तर्राष्ट्रिय फोरममा सहभागी हुँदै उनले इरानी राष्ट्रपति मसूद पेजेश्कियनसँग भेट गरे । डिसेम्बर ६ मा बेलारूससँग गरेको सुरक्षा सम्झौताले पहिलोपटक बेलारूसलाई रूसको आणविक सुरक्षा संरचनाभित्र प्रवेश गरायो ।
सन् २०२५ को जुन २७ मा पुटिन युरेसियन इकोनोमिक काउन्सिलको सम्मेलनमा सहभागी हुन पुनः मिन्स्क पुगे । त्यसपछि अगस्ट १५ मा अमेरिका–रूस सम्बन्धमा नयाँ अध्यायको रूपमा उनले अलास्काको एंकरेजमा २ घण्टा ४५ मिनेटसम्म डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरे, यद्यपि वार्ता असफल भएको थियो । त्यसपछि अगस्ट ३१–सेप्टेम्बर ३ मा उनी पुनः चीनमा आयोजित एससीओ शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेका थिए ।