काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०० वर्षसम्म लड्दा पनि नभ्याउने गरी आफूमाथि मुद्दा लगाइएको गुनासो गरेका छन् ।
बिहीबार 'हामी नेपाल' नामक संस्थाका संयोजक सुधन गुरुङसँगको भेटमा रविले उक्त कुरा बताएका हुन् । रविलाई हाल नख्खु कारागारमा राखिएको छ । बिहीबार जेनजी अगुवासमेत रहेका सुधन रविलाई भेट्न नख्खु पुगेका थिए । त्यसक्रममा रविसँग भएको कुराकानी सुधनले बताएका हुन् ।
"उहाँ (रवि) ले बरु अर्को आयोग बनाएर भए पनि मलाई छानबिन गरियोस् । ममाथि अझै छानबिन गरियोस्, यसमा मलाई कुनै तनाव छैन । तर, यतिधेरै मुद्दा म २०० वर्ष लाएर पनि भ्याउदिनँ भन्ने कुरा उहाँले गर्नुभयो," रविको भनाइ उद्धृत गर्दै सुधनले भने ।
रविमाथि भएको व्यवहारप्रति आफू पनि दुःखी रहेको सुधनले बताए । राम्रो काम गर्छु भनेर अगाडि बढ्दा आफ्नो पनि चरित्र हत्या गरिरहेको सुधनले बताए ।
"उहाँ (रवि) माथि जे गरिएको छ त्यसप्रति हामी पनि दुःखी छौँ । राम्रो काम गर्छु भनेर आउनुभएको मान्छे हो । हामी पनि केही राम्रो गर्छौं भनेर अगाडि बढेका हौँ तर चरित्र हत्यादेखि लिएर अनेक गरिरहनुभएको छ," सुधनले भने, "देशको लागि राम्रो गर्छु भनेर आउने मान्छेलाई कसरी खेलाउँदा रहेछन् भन्ने उदाहरण उहाँ बन्नुभएको छ । यो केही मान्छे र संगठनहरूको पहिल्यैदेखिको रणनीति हो ।"
भेटमा लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको सुधनले बताए । आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्नेमा रविले जोड दिएको सुधनको भनाइ छ ।
भेटमा आफूले वैकल्पिक शक्तिहरू मिलेर जानुपर्ने प्रस्ताव राखेको सुधनले बताए । त्यसमा रवि सकारात्मक रहेको पनि उनको भनाइ छ । वैकल्पिक शक्तिहरूको एकताको प्रयासमा रहेको उनको भनाइ छ ।