site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विमान, हेलिकोप्टर र ब्ल्याक 'सी'को महलसहित रूसी राष्ट्रपति पुटिनसँग कति छ सम्पत्ति ?

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि भारतको भ्रमणमा आएका छन् । शुक्रबार उनको भ्रमणको दोस्रो दिन हो । यस अवधिमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । साथै, हैदराबाद हाउसमा भारत–रूस शिखर सम्मेलनमा पनि सहभागी भएका छन् ।

युक्रेनसँगको युद्धकै बीचमा भएको उनको यो भारत भ्रमण धेरै चर्चित छ । युद्धका कारण उनी सधैँ चर्चामा रहन्छन् । तर, त्योभन्दा पनि बढी चर्चा उनको विलासितापूर्ण जीवनशैलीको भइरहेको छ ।

उनी ८०० वर्गफिटको एउटा अपार्टमेन्ट, एउटा ट्रेलर र तीनवटा कारको मालिक भएको दाबी गर्छन्, तर उनको विशाल लग्जरी सम्पत्तिबारेका अफवाहहरू भने लगातार फैलिरहेका छन् । उनलाई विश्वका सबैभन्दा धनी राजनीतिज्ञमध्ये एक मानिन्छ ।

पुटिनले रूसका राष्ट्रपति भनेर मात्र एक लाख ४० हजार डलरको वार्षिक तलब प्राप्त हुने दाबी गर्दै आएका छन् । तर, उनको जीवनशैली र निजी सम्पत्तिसम्बन्धी रिपोर्टहरूले भने अर्कै कथा बताउँछन् ।

‘द विक’ पत्रिकामा प्रकाशित एउटा लेखअनुसार, ७३ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्पत्ति २०० विलियन डलरभन्दा बढी हुन सक्छ । यसबाहेक, उनको स्वामित्वमा ८०० वर्गफिटको अपार्टमेन्ट, एउटा ट्रेलर र तीनवटा कारहरू पनि छन् ।

मिडिया रिपोर्टअनुसार, सन् १९९० को दशकमा रूसका एक प्रमुख लगानीकर्ताले पुटिनको निजी सम्पत्ति २०० विलियन डलर रहेको दाबी गरेका थिए । त्यसबेलादेखि यो दाबी निरन्तर सार्वजनिक हुँदै आएको छ । यसले पुटिनको धनसम्बन्धी रहस्यमा थप परतहरू जोड्दै गएको छ ।

सन् २०१५ मा, फोब्र्सले उनी बिलियनेयर सूचीमा किन परेनन् भन्ने प्रसंगमा, पुटिनसँग एक विलियन डलरभन्दा बढी मूल्यको सम्पत्ति रहेको प्रमाणित हुन नसकेको उल्लेख गरेको थियो ।

सन् २०१७ मा, फाइनान्सर बिल ब्राउडरले अमेरिकी सिनेट न्यायिक समितिमा पुटिनलाई ‘विश्वकै सबैभन्दा धनी व्यक्ति’ भएको दाबी गर्दै उनको अनुमानित नेट–वर्थ २०० बिलियन डलर रहेको बताएका थिए ।

उनको निजी सम्पत्तिमा ब्ल्याक सीको एक चर्चित महल पनि समावेश छ, जसलाई ‘पुटिनको कन्ट्री कटेज’ का रूपमा चिनिन्छ ।

पुटिनको महलमा के–के छन् ?
आफ्नो दाबीभन्दा फरक रूपमा पुटिनको स्वामित्वमा ग्रिक देवताका मूर्तिहरूले सजाइएको सिंहमरमरको स्विमिङ पुल, एउटा अम्फिथिएटर, आधुनिक आइस हकी रिंक, भेगास शैलीको क्यासिनो र एउटा नाइट क्लबसमेत रहेको बताइन्छ । १९ वटा घरहरू समावेश भएको यो महलको मूल्य १.४ विलियन डलर रहेको बताइन्छ ।

एक् लाख ९० हजार वर्गफिटमा फैलिएको किल्लाजस्तो यस महलको आन्तरिक सजावट अत्यन्तै महँगो छ । पाँच लाख डलरको डाइनिङ फर्निचर, ५४ हजार डलरको बार टेबल, ८५० डलरको ट्वाइलेट ब्रस र १२५० डलरको ट्वाइलेट पेपर होल्डरसहितको वैभवशाली वासरूम यहाँ छ ।

पुटिन कहाँ बस्छन् ?
डेली मेलको रिपोर्टअनुसार, अर्को एक महल १६८ एकड जमिनमा केप इडोकोपासमा, गेलेन्द्जिकको ब्ल्याक सी किनारका चट्टानमाथि अवस्थित छ । २०२१ को एक अनुसन्धान अनुसार, यस महलमा पोल–डान्सिङ हुक्का बुद्वार, क्यासिनो र ‘एक्वा डिस्को’ पनि छ । यसमा १६ तले भूमिगत परिसर रहेको दाबी गरिन्छ, जसलाई जेम्स बन्ड फिल्मका खलनायकका गुप्त गुफासँग तुलना गरिएको छ । यो क्षेत्र अत्यन्त कडा सुरक्षा भएको मानिन्छ ।

पुटिनसँग ‘घोस्ट ट्रेन’ छ ?
पुटिनसँग २२–कारको ‘घोस्ट ट्रेन’ रहेको बताइन्छ । यसमा जिम, एन्टिआयजिङ मेसिनहरूसहितको स्किनकेयर र मसाज पार्लर, लग्जरी टर्किस बाथ–स्टिम रूम, लग्जरी बेडरूम, सुसज्जित डाइनिङ कार र एउटा मूभी थिएटरसमेत छन् । यो ट्रेन पूर्ण रूपमा आर्मर्ड छ, जसमा बुलेटप्रुफ ढोका–झ्याल र आपतकालीन चिकित्सा उपकरण राखिएका छन् ।

यसको निर्माण लागत ७४ मिलियन डलर अनुमान गरिएको छ, र वार्षिक मर्मतका लागि १५.८ मिलियन डलर खर्च लाग्ने बताइन्छ ।

पुटिनसँग ५८ वटा विमान र हेलिकोप्टरसमेत रहेको दाबी छ, जसमा ‘द फ्लाइङ क्रेमलिन’ नाम दिइएको ७१६ मिलियन डलरको विशाल विमान पनि पर्छ ।

पुटिनको अन्य सम्पत्ति
‘फच्र्युन’का अनुसार, यो भव्यता कायम राख्न पुटिनलाई ४० जना कर्मचारी र वर्षमा दुई मिलियन डलर खर्च आवश्यक पर्छ । रिपोर्टअनुसार, रूसी राष्ट्रपतिको फजुलखर्च सूचीमा १९ वटा अन्य घरहरू र ७०० वटा लग्जरी कारहरू छन् ।

यसबाहेक, उनको स्वामित्वमा ‘शेहेराजादे’ नामक नौका पनि छ, जसको मूल्य ७०० मिलियन डलर छ । त्यस्तै, उनीसँग ६० हजार डलरदेखि पाँच लाख डलरसम्मका विलासितापूर्ण घडीहरूको संग्रह पनि छ, जसको मूल्य पुटिनले घोषणा गर्ने वार्षिक तलबभन्दा करिब छ गुणा बढी हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २३:१९
प्रतिक्रिया दिनुहोस्