site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तान र अफगानिस्तानबीच सीमामा झडप, युद्धविराम उल्लंघनको आरोप

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको तालिबान शक्तिबीच फेरि सीमामा झडप भएको छ । दुवै पक्षले अर्को पक्षलाई युद्धविराम उल्लंघनको आरोप लगाएका छन् ।

दुई देशबीचको दुई हजार ६०० किलोमिटर लामो सीमानानजिकै रहेको अफगान सहर स्पिन बोल्डाकका बासिन्दाहरू रातभरि स्थानान्तरण भएका छन् ।

नजिकैको कान्धार सहरका एक स्वास्थ्यकर्मीले चारजनाको शव स्थानीय अस्पताल ल्याइएको बताए । चारजना घाइते भएका छन् । पाकिस्तानमा तीनजना घाइते भएको जनाइएको छ ।

केही महिनादेखि दुई देशबीच सीमामा झडप भइरहेको छ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले देशभित्र आक्रमण गरेको आरोप लगाएको छ ।

दुवै पक्षले रातभर गोली हानाहान भएको पुष्टि गरे पनि चार घण्टासम्म चलेको यो झडपको सुरुआत गर्ने दोष अर्को पक्षलाई लगाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोसर्रफ जाइदीले पाकिस्तानी सशस्त्र बलहरूले तत्काल तीव्र प्रतिक्रिया दिएको बताएका छन् । उनले आफ्नो क्षेत्रीय अखण्डता र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सचेत र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

यसैबीच, तालिबानका प्रवक्ताले पाकिस्तानले फेरि एकपटक आक्रमण सुरु गरेको बताउँदै उनीहरू प्रतिक्रिया दिन बाध्य भएको बताए । सीमाको अफगान पक्षका बासिन्दाहरूले शुक्रबार राति साढे १० बजे गोली हानाहान सुरु भएको बताए ।

उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूमा ठूलो संख्यामा अफगान नागरिकहरू पैदल र सवारीमा भागिरहेको देखिएको छ । बीबीसी

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्