site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महाधिवेशन– शेखर कोइराला कसरी गर्दैछन् नेतृत्वको तयारी ?

काठमाडौं । नेपाली कांग्रेस असोज अन्तिम सातादेखि मंसिरको दोस्रो सातासम्म महाधिवेशन विवादमा रुमल्लियो । असोज २८ मा कांग्रेस केन्द्रीय समितिमै उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति घोषणा गर्दै उपचारका नाममा शेरबहादुर देउवा सिंगापुर हिँडे । 

देउवा सिंगापुरमा रहँदा पनि कांग्रेस झगडामै व्यस्त भयो । देउवा कात्तिक २८ मा स्वदेश फर्किदासमेत कांग्रेस भने महाधिवेशन कहिले र कस्तो भन्ने झगडाबाट बाहिर निस्कन सकेन ।

जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा नेतृत्व परिवर्तन गरेर चुनावमा जाने साझा मुद्दामा उभिएका डा. शेखर कोइराला र गगन थापा विशेष महाधिवेशन प्रस्ताव दर्ता भएपछि अलग ठाउँमा उभिए । 

गगन थापा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको मुद्दामा अडिए । उता शेखर कोइराला निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा उभिए ।  कोइरालाले विशेष महाधिवेशनलाई दोस्रो प्राथमिकतामा राख्दै विशेष महाधिवेशन केन्द्रीय समितिको निर्णयबाट मात्र हुन सक्ने अडान कायम राखे ।

उनले विशेष महाधिवेशनले पार्टी विभाजनको प्रस्ताव ठाडै अस्वीकार गर्दै केन्द्रीय समितिभन्दा बाहिरबाट महाधिवेशनको विकल्प खोजे पार्टी फुट्ने नै घोषणा गरे ।

“या त नियमित महाधिवेशनमा जानुपर्छ होइन भने विशेष महाधिवेशन केन्द्रीय समितिकै निर्णय र आयोजनामा गर्नुपर्ने हुन्छ,” उनले विशेष महाधिवेशन पक्षधरलाई भनेका थिए, “त्यसो हुन सकेन भने पार्टी विभाजनमा जान्छ । कोइरालाले पार्टी फुटाउँदैन, म त्यस्ता भेलामा सहभागी हुँदिन ।”

त्यसबीचमा दुई महामन्त्रीले कोइरालासँग छलफल गरे । छलफलका लागि महामन्त्रीद्वय कोइरालाको कार्यालयसम्म पुगेका थिए । 

उक्त छलफलमा विशेष महाविधेशनबाट पार्टी विभाजनको अवस्थासम्म पुग्न सक्ने विषयमा पनि कुराकानी भएको थियो ।

“कहिलेकाहीँ उत्साह नै विनासको कारण बन्छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशतको हस्ताक्षर सामान्य होइन । तर, त्यही उत्साहमा भेलालाई महाधिवेशन भन्ने तहमा गयो भने त पार्टी फुट्ने अवस्थामा पुग्छ,” डा. शेखरले बाह्रखरीसँग भने, “कांग्रेस विभाजनमा पुगेका बखत हरेक पटक लोकतन्त्र जोखिममा परेको छ । अनि जान्दा जान्दै हामीले नै आगोमा घ्यू थप्यौँ भने अवस्था के हुन्छ ?”

कोइरालाले त्यसबीचमा सभापति देउवासँग छलफल गरेका थिए । सभापति देउवाले आफू फेरि पनि सभापतिको उमेदवार नबन्ने बताउँदै विशेषभन्दा नियमित महाधिवेशनमै जोड दिएका थिए ।

उनले बाह्रखरीसँगको संक्षिप्त भेटमा पनि भनेका थिए, “म त फेरि सभापति बन्ने पक्षमा छैन, विधानले पनि मलाई फेरि बन्न दिँदैन । चुनावअघि महाधिवेशनमा जाँदा पार्टीभित्रको प्रतिस्पर्धाको नकारात्मक प्रभाव चुनावमा पर्छ । पार्टीलाई घाटा लाग्छ भन्ने मेरो सुझाव हो । उहाँहरू जे गर्नुहुन्छ गर्नुहोस् ।” 

नियमित महाधिवेशन र चुनावपछि महाधिवेशनका पक्षमा रहेका विमलेन्द्र निधि र कृष्ण सिटौलाको पनि कोइरालासँग पटक–पटक छुट्टाछुट्टै कुराकानी भएको थियो ।  विशेष महाधिवेशनको अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरे विशेष महाधिवेशनको दबावले नियमित महाधिवेशनको कार्यतालिकासम्म पुर्‍याएको बताउँछन् ।

“उहाँले भनेर मात्रै केन्द्रीय समिति पुसमा महाधिवेशनको कार्यतालिकामा पुग्ने अवस्था थिएन । त्यो निर्णयसम्म पुग्न विशेष महाधिवेशनको दबावले नै काम गरेको हो,” घिमिरेले बाह्रखरीसँग भने, “तर, अन्त्यमा त्यही निर्णय भयो, जुन उहाँले पनि अडान लिँदै आउनुभएको थियो ।”

संस्थापन पक्षले जसरी पनि वैशाखमै महाधिवेशन हुने अडान लिँदै केन्द्रीय समितिको बहुमतबाट चुनावअघि महाधिवेशनको प्रस्ताव फेल गर्ने चेतावनी दियो । 

महामन्त्रीहरू विशेष महाधिवेशनको विकल्प नभएको अडानमा अडिए । देउवाले विशेष महाधिवेशनसँगै पार्टीको फूट जसरी पनि रोक्नुपर्ने अडान लिँदै संस्थापनलाई पुसको कार्यतालिकामा सहमत गराएपछि सर्वसम्मत रुपमा पुस २६–२८ को कार्यतालिका आएको छ ।

महामन्त्री गगन थापाले अतिरिक्त धारणा पनि पार्टी कार्यालयमा दर्ता गराएका छन् ।  उनले कहीँ पनि अवरोध भए विशेष महाधिवेशन प्रस्ताव ‘एक्टिभ’ हुने दाबी लिएका छन् । साथै थापाले आगामी महाधिवेशनमा नेतृत्व लिने तयारी गर्दै उमेदवारी घोषणा गरिसकेका छन् ।

संस्थापनइतर समूहमा रहेका केही नेताले भने कोइराला र थापालाई एउटा महाधिवेशनमा मिलाएर लैजाने गरी छलफल अघि बढाए पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

अघिल्लो महाधिवेशनमा हार बेहोरेपछि देश दौडाहामा रहेका डा. कोइराला भने पुरानै मुद्दामा छन्, ‘‘एकपटक कांग्रेसको नेतृत्व गर्ने । मूल्य प्रणालीमा पार्टीलाई हिँडाउने अनि युवालाई नेतृत्व हस्तान्तरण गर्ने ।’’

“यो पार्टीलाई गुटगत राजनीतिबाट बाहिर निकाल्नुछ, त्यसैले मैले एउटा मात्र पक्षका साथीसँग कुरा गरिरहेको छैन, त्यसैले कति साथीहरू रिसाउनु पनि भएको छ,” डा. कोइरालाले भने, “यो पार्टीमा स्थायी गुट रहनु हुँदैन, १५औँ महाधिवेशनमा रहँदैन भन्ने मेरो विश्वास छ । यो अभ्यास हुन सक्यो भने रिसाएका साथीहरू पनि मसँग खुसी हुनुहुनेछ ।”
 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्