site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाका उमेदवार– ‘सात भाइ’बाट कि पूर्णबहादुर खड्का ?

काठमाडौं । नेपाली कांग्रेस लामो विवादपछि पुस २६–२८ को नियमित महाधिवेशन कार्यतालिकामा प्रवेश गरेको छ । सर्वसम्मत् निर्णय भए पनि अझै विशेष अधिवेशनको बाध्यता बाँकी हुन सक्ने देखाउँदै महामन्त्री गगन थापाले ‘फरक मत’ जाहेर गरेका छन् । 

यसले के देखाउँछ भने ‘महाधिवेशन विवाद’ सकिएको छैन । अब सदस्यता समयमा टुंग्याउन सकेमा तोकिएको मितिको आसपासमा महाधिवेशन हुने विश्वास कांग्रेस नेताहरूको छ । संस्थापन–इतर पक्षबाट अघिल्लोपटक सभापतिमा शेरबहादुर देउवालाई दोस्रो चरणसम्म टक्कर दिएका डा. शेखर कोइराला त्यसबेलादेखि नै आफ्नो उमेदवारी रहने बताउँदै आएका छन् ।

संस्थापन पक्षमा देउवाको उत्तराधिकारी बन्न दुईवटा गुट बनेको देखिन्छ ।  कार्यवाहक सभापति भएका आधारमा पनि पूर्णबहादुर खड्का स्वाभाविक दावेदार देखिन्छन् । उनलाई समर्थन गर्ने समूह पनि संस्थापनमै छ ।

तर, गत फागुनयता उत्तराधिकारी घोषणा गर्न देउवासामु दबाब दिने समूहले खड्कालाई समूहमा नराखेको मात्र होइन कि उनको नामै लिएको छैन । त्यही बेलादेखि संस्थापनमा स्पष्ट दुई गुट देखिएका हुन् ।

सात नेताले आफ्नो टिमको आधिकारिक उमेदवार घोषणा गर्न दबाब दिइरहे ।  तर, देउवाले उनीहरूलाई आफूहरूबीच सहमति गरेर ‘साझा उमेदवार ल्याउनू’ भनेका थिए । साझा उमेदवार जो ल्याए पनि आफूले त्यही उमेदवारलाई साथ दिने देउवाको भनाइ रह्यो ।

गत फागुनमा देउवाले ०८३ असार अगाडि महाधिवेशनको मिति घोषणा नहुने र उमेदवार पनि नछान्ने स्पष्ट पारेका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार प्रधानमन्त्री पदमा ओली ०८३ असारसम्म रहने र त्यसपछि देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने सात बुँदे सहमतिमा थियो । 

त्यसमा ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने’ भनी उल्लेख भएकाले त्यो अवधिसम्म सभापतिमा बहाल रहने देउवाको बुझाइ थियो ।  त्यही कारण त्यसअघि महाधिवेशन नहुने र उमेदवार पनि टुंगो नलाग्ने देउवाको सन्देश थियो । 

तर, जेनजी आन्दोलनले देउवा–ओलीबीचका पुराना सहमतिलाई ध्वस्त पार्‍यो ।  देउवा दम्पतीलाई निवासमै कुटपिट गरियो । त्यसपछि देउवालाई नेतृत्व छाड्न दबाब बढ्यो । देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर प्रस्थान गरे ।

सभापतिको आकांक्षा देखाउँदै संस्थापन पक्षका सात भाइले निरन्तर छलफल र भेटघाट जारी राखेका छन् । संस्थापन पक्षका सात भाइमध्ये विजयकुमार गच्छदार र डा. प्रकाशशरण महतबाहेक सबै आफैँ सभापतिका आकांक्षी थिए ।

गोपालमान श्रेष्ठले ‘सिनियर मोस्ट’ लाई सभापति बनाउँदै बाँकी नेताहरू टिममा व्यवस्थापन गर्न सकिने भन्दै आफूलाई सभापति रूपमा प्रस्तुत गरिसकेका छन् । तर, उक्त प्रस्तावले टिममा महत्व नपाएको नेताहरू बताउँछन् । त्यसबाहेक प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्ण सिटौला र विमलेन्द्र निधि पनि सभापति उमेदवारका आकांक्षी हुन् ।

सिंह, सिटौला र निधि अघिल्लो महाधिवेशनमै पनि उमेदवार थिए । कांग्रेसमा महामन्त्रीहरूको नेतृत्वमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएपछि नियमित कि विशेष महाधिवेशन विवाद देखापर्‍यो ।  नियमित महाधिवेशन पुसमा कि वैशाखमा भन्ने विवादमा लामो समय खेर गयो । 

तर, अझै संस्थापन पक्षमा आधिकारिक उमेदवार तय नहुँदा नेताहरू छटपटमा छन् ।  पुसमा र वैशाखमा महाधिवेशन भन्ने विवादमा संस्थापन नै दुई धारमा बाँडिएको थियो ।

सात भाइ नेतृत्वका बहुमत केन्द्रीय सदस्यहरू वैशाखको महाधिवेशन पक्षमा उभिँदा कार्यवाहक सभापति खड्का, नेता रमेश लेखक, रमेश रिजालसहितका नेता पुसको महाधिवेशन पक्षमा थिए ।

उनीहरूले मुद्दाको हिसावले आफ्नो समूहको जित भएको भन्दै सभापति देउवाले १५औं महाधिवेशनमा पूर्णबहादुर खड्काकै नेतृत्वको टिम अघि सार्ने दाबी गर्छन् ।

“सात भाइले पूर्णबहादुर खड्कालाई अलग राख्दै देउवालाई दबाब दिएका थिए । तिनले विशेष कि नियमित भन्ने विवादमा वैशाखको अडान राख्दै खड्कालाई टिमबाहिर धकेल्ने प्रयत्न गरेकै हुन्,’’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, “कार्यवाहक नै भएपछि पूर्णबहादुर खड्काले यसमा थप आधिकारिकता पाउनुभयो । विशेषगरी विमलजी र सिटौलाजी यसमा सहमत हुनुहुन्न ।”

ती केन्द्रीय सदस्य निधि र सिटौला देउवाको उमेदवार बन्न कस्सिएर लागेपछि संस्थापन पक्षमा अलग समूह खडा भएको दाबी गर्छन् ।  त्यसबाहेकका नेताहरू सभापतिको उमेदवारीका लागि धेरै मेहनतमा नरहेको उनको बुझाइ छ ।

सर्वसम्मत निर्णयबाट पुस मसान्तको कार्यतालिका आएपछि निधिले गत मंसिर १६ गते देउवासँग भेटवार्ता गरेका थिए । निधिले देउवासँग  सभापतिमा कसैलाई बचन दिनुभएको छ कि भनी सोधेका थिए । 

तर देउवाले त्यस्तो बचन कसैलाई पनि नदिएको बताएका थिए । “उहाँले १५औँ महाधिवेशनका लागि सभापतिमा कसैलाई पनि बचन नदिएको बताउनुभएको छ,” निधिले बाह्रखरीसँग भने, “तपाईंहरू छलफल गर्नुस्, सहमतिको प्रयास गर्नुस् भन्ने उहाँको सुझाव छ ।”
 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्