site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नोबेल शान्ति पुरस्कार विजेता मचादोको समर्थनमा विश्वभर किन भइरहेको छ ‘मार्च’ ?

काठमाडौं  । यस वर्षको नोबेल शान्ति पुरस्कार जितेकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोको समर्थनमा विश्वभरका ८० भन्दा बढी ठूला सहरमा एकैसाथ मार्च (जुलुस) निकालिएको छ ।

मार्च निकाल्नुको मुख्य उद्देश्य अर्को हप्ता हुने नोबेल शान्ति पुरस्कार समारोहअघि मारियाको जितको उत्सव मनाउनु तथा भेनेजुएलाको लोकतान्त्रिक आकांक्षामाथि अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गर्नु रहेको बताइएको छ ।

म्याड्रिड, उट्रेख्ट, ब्युनर्स आयर्स, लिमालगायत दर्जनौँ सहरमा उनको समर्थनमा मानिस सडकमा उत्रिएका थिए । 

पेरुको लिमामा भीडले मचादोका पोस्टर बोकेर ‘मुक्त भेनेजुएला’को नारा लगाइरहेका थिए । काँधमा राष्ट्रिय झन्डा लिएका प्रदर्शनकारीले प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा ‘नोबेल पुरस्कार भेनेजुएलाको हो’ लेखिएको थियो ।

भेनेजुएलाको लामो संकट निर्णायक मोडमा पुग्नै लाग्दा यो प्रदर्शन भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यारेबियन क्षेत्रमा ठूलो सैन्य तैनाथ गर्दै बारम्बार भेनेजुएलाको भूमिमाथि आक्रमण गर्ने धम्की दिइरहेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले यसलाई आफ्नो सत्ता समाप्त गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । विपक्षले पनि यही धारणा थप बलियो बनाइरहेको छ । किनभने उनीहरूले चाँडै देशको सत्ता सम्हाल्ने वाचा गरिरहेका छन् ।

मचादोले मंगलबार सामाजिक सञ्जालमार्फत भनेकी छिन््, “हामी यस्तो समयबाट गुज्रिरहेका छौँ, जहाँ हाम्रो धैर्य, दृढता र संगठनको परीक्षा लिइँदै छ । सबै वर्षको संघर्ष र भेनेजुएलाका जनताको गरिमालाई अब नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।”

५८ वर्षीया मचादोले गत १० अक्टोबरमा यो पुरस्कार प्राप्त गरेकी थिइन् । उनलाई दक्षिण अमेरिकी देशमा लोकतान्त्रिक परिवर्तनका लागि संघर्ष गर्ने एक साहसी नेतृका रूपमा सम्मान गरिएको थियो ।

मचादोले विपक्षी प्राथमिक चुनाव जितेकी थिइन् र गत वर्ष मादुरोविरुद्ध राष्ट्रपति निर्वाचन लड्ने तयारीमा थिइन् । तर, सरकारले उनलाई चुनाव लड्नबाट रोकेको थियो । उनको ठाउँमा सेवानिवृत्त कूटनीतिज्ञ एडमुन्डो गोन्जालेज मैदानमा उत्रिएका थिए ।

एक समय भेनेजुएलाकी विपक्षी नेतृ मचादोलाई भूमिगत हुनुपर्ने अवस्थासमेत आयो । ९ जनवरीमा काराकासमा भएको प्रदर्शनमा सहभागी भएपछि उनलाई केहीबेर हिरासतमा लिइएको थियो । त्यसपछि उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । त्यसको भोलिपल्टै मादुरोले तेस्रो ६ वर्षे कार्यकालका लागि शपथ लिएका थिए ।
 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्