काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ताहरू राजेश्वर अधिकारी र राजु कटुवाल नियुक्त भएका छन् । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यही मंसिर २१ को केन्द्रीय समितिको निर्णयका आधारमा नियुक्ति दिएका हुन् ।
नेपाली कांग्रेसको विधानमा एक संयोजक र चार सदस्यसहित पाँचजनाको केन्द्रीय निर्वाचन समिति रहने व्यवस्था गरेको छ । केन्द्रीय समितिको निर्णय र विधानको व्यवस्थाबमोजिम कार्यवाहक सभापतिले नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णयबमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता श्री राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता श्री राजु कटुवाल (सुनसरी) लाई सदस्यमा मनोनयन गर्नु भएको छ,” मुख्यसचिव पौडेलले भने ।
यससँगै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्बबहादुर खाती छन् ।
