काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहीत ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् ।
आइतबार (मंसिर २१) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको उनको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराएकी खरेलको भनाइ छ । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत मन्त्री खरेलले जानकारी दिए । समयमै निर्वाचन सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गर्दै भण्डारी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबीच भेटघाट भएको हो ।
भेटबारे मन्त्री खरेलले दिएको जानकारी :
भेटको सुरुमा स्वास्थ्यसम्बन्धी र दिनचर्याका विषयमा चासो राख्नुभयो दुवै जनाले । पारिवारिक कुराकानीहरू पनि उहाँहरूबीच एकदमै आत्मियताका साथ भयो । त्यसबाहेक अहिले सरकारले गरिरहेको कामको सन्दर्भमा प्रधानमन्त्रीज्यूले केही कुराहरु साझा गर्नुभयो । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्वराष्ट्रपतिज्युले सल्लाह दिनुभयो । आवश्यक परेको सहयोगका लागि आफू तयार रहेको पनि उहाँले भन्नुभयो । त्यसबारे भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा सरकारले चालिरहेको कार्यप्रति पनि उहाँले सकारात्मक भाव राख्नुभयो । प्रधानमन्त्रीले सोहीअनुसार कुरा राख्नुभयो । न्युज एजेन्सी नेपाल