site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव काठमाडौंमा, प्रधानमन्त्री र मन्त्रीलाई भेट्ने

काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार आइतबार दिउँसो काठमाडौं आएका छन् । 

उनी लुम्बिनीमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुन र पछिल्लो नेपालको राजनीतिक अवस्थाका बारेमा बुझ्न काठमाडौं आएका हुन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आइतबार काठमाडौं आइपुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावार मंसिर २४ गते स्वदेश फर्कने छन् ।

उनी खासगरी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्बन्धमा बुझ्न र भारतीय लगानीमा सञ्चालित परियोजनाको अवस्थाबारे जानकारी लिन काठमाडौं आएका हुन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावार सोमबार लुम्बिनी जाने कार्यक्रम छ । त्यहाँ उनी एक सांस्कृतिक कार्यक्रम सहभागी हुने स्रोतले जनायो । 

उनी मंगलबार बिहान लुम्बिनीबाट काठमाडौं फर्किनेछन् । मंगलबार उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भेटमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र सहयोग सम्बन्धमा छलफल गर्ने जनाइएको छ । उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरी नेपाल–भारत द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् । 

“भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारज्यूले कुनै राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने सम्बन्धमा हामीसँग समय माग्नु भएको छैन । उहाँको राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावारले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटघाट गर्ने छैनन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्