काठमाडौं । जापान र अस्ट्रेलियाले चिनियाँ विमानद्वारा जापानी लडाकु जहाजमा राडार ‘लक’ गरिएपछि संयमता अपनाउन अपिल गरेका छन् ।
जापानी प्रधानमन्त्रीले ताइवानको विषयमा टिप्पणी गरेको एक महिनापछि आएको यो घटनाले टोकियो र बेइजिङबीच तनाव झन् बढाएको समाचार संस्था एपीले जनाएको छ ।
रक्षामन्त्री शिन्जिरो कोइजुमीले जापानले यो घटनामा औपचारिक रूपमा चिनियाँ पक्षलाई विरोध जनाएको बताउँदै यो ‘अत्यन्त दुःखद’ र ‘खतरनाक’ कार्य भएको बताएका छन् । उनले यसले सुरक्षित विमान सञ्चालनको आवश्यक सीमा नाघेको बताए ।
जापानी रक्षा मन्त्रालयका अनुसार, चिनियाँ विमानवाहक जहाज लियाओनिंगबाट उडेको जे–१५ लडाकु विमानले शनिबार दुईपटक जापानी एफ–१५ लडाकु जहाजमा राडार लक गरेको थियो । पहिलो पटक साँझ करिब ३ मिनेट र दोस्रोपटक राति करिब ३० मिनेटसम्म यो अवस्था कायम रहेको थियो ।
एपीका अनुसार, जापानका लडाकु विमानहरूले प्रशान्त महासागरमा उडान र अवतरणको अभ्यास गरिरहेका चिनियाँ विमानहरूलाई पछ्याएका थिए । जापानी जेटहरू धेरै टाढा बसे र कुनै विवाद सिर्जना गर्ने प्रयास गरेनन् । छोटो समयको लागि राडार लक भयो । चिनियाँ विमानहरू जापानी हवाई क्षेत्रमा प्रवेश गरेनन्, र यस घटनामा कसैलाई चोट वा कुनै क्षति भएन ।
चिनियाँ नौसेनाका प्रवक्ता सिनियर कर्नल वाङ जुआनमेङले मियाको जापानी टापु नजिकैको उडान अभ्यासलाई बचाउँदै बेइजिङले अग्रिम रूपमा यो अभ्यासको घोषणा गरेको बताए । उनले जापानी विमानले ‘उत्पात’ मच्चाएको आरोप लगाए ।
जापानी प्रधानमन्त्री सानाए तकाइचीले नोभेम्बरको सुरुमा ताइवानमा चिनियाँ कारबाही भएमा जापानी सेनाले संलग्न हुने सम्भावना रहेको बताएपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ । तकाइचीले यो राडार लक घटनालाई ‘अत्यन्त निराशाजनक’ भनेकी छन् ।
टोकियोमा भएको नियमित प्रेस वार्तामा जापान र अस्ट्रेलियाका रक्षामन्त्रीहरूले यो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । अस्ट्रेलियाली रक्षामन्त्री रिचार्ड माल्र्सले चिनियाँ कारबाही प्रति गहिरो चिन्ता जताएका छन् ।
दुई देशले सैन्य सम्बन्ध बलियो बनाउने र क्षेत्रीय बहुपक्षीय रक्षा सहयोगमा नेतृत्व गर्ने सहमति जनाएका छन् । जापानले आफ्नो सैन्य क्षमता विस्तार गर्दै अमेरिकाबाहेक अस्ट्रेलियासँग रणनीतिक सहयोग बढाउँदै आएको छ ।
यसअघि २०१३ मा चिनियाँ युद्धपोतले जापानी विध्वंसक जहाजमा राडार लक गरेको थियो । लडाकु जहाजहरूले साधारणतया मिसाइल प्रक्षेपण अगाडि राडार प्रयोग गर्छन् ।
अर्कोतर्फ दक्षिण चिनियाँ सागरमा गस्ती गरिरहेको फिलिपिनी मत्स्य विमानमा चिनियाँ सेनाले शनिबार तीनवटा फ्लेयर प्रक्षेपण गरेको छ । विवादित क्षेत्रमा आफ्नो वायुसीमा भित्र प्रवेश गरेको ठानिएका विमानहरूलाई फ्लेयर प्रक्षेपण गरी चेतावनी दिइने गरिन्छ ।