काठमाडौं । फरक–फरक जेनजी समूहमध्ये एक मिराज ढुंगानाको (गरिखान देऊ) समूहले पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागिरहेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि सरकारले आमजनताका एजेन्डा नबोकेको र कुनै पनि माग सम्बोधन नगरेको भन्दै उनीहरू सडकमै उत्रिएर विरोध गर्न थालेका छन् ।
मिराज समूह गत मंसिर ८ गते प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो । कार्कीले समय नदिएपछि गेटमै ज्ञापनपत्र टाँस्दै फर्कियो ।
भोलिपल्ट फेरि ज्ञापनपत्र बुझाउन सिंहदरबार गेटअगाडि पुगेको थियो । तर, उनीहरूले सिंहदरबार प्रवेश नपाएपछि कार्कीविरुद्ध कालोपट्टी बाँध्दै विरोध प्रदर्शनमा उत्रियो ।
त्यसपछि उक्त समूह र प्रहरीबीच धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । निधेषित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने नियम उल्लंघन गर्दै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई धकेल्दै बिजुलीबजार पुर्याएको थियो ।
त्यसपछि मंसिर १० गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न गएको थियो । प्रतिनिधिसभा सदस्य चुनावको विपक्षमा रहेको मिराज समूह सडक संघर्षमा उत्रिएको छ ।
जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइ निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले जेनजी सरकार ‘हाइज्याक’ भएको दाबी गरेका थिए ।
“यो जेनजी सरकार होइन । यो त अपहरणकर्ता सरकार जस्तै छ । यही शैलीमा तपाईं प्रस्तुत हुने हो भने तपाईं ढुक्क हुनुस्, धेरै समयसम्म प्रधानमन्त्री रहनुहुन्न । जेनजी र देशको मर्म तपाईंले बुझ्न सक्नुभएन,” ढुंगानाले भने ।
मिराज समूहका जेनजी अगुवा हरिश भट्टले जेनजीले उठाएका एजेन्डा र मागहरू पूरा नहुँदा प्रधानमन्त्रीको राजीनामा माग्न बाध्य भएको बताउँछन् ।
“जेनजी विद्रोह चुनाव गराउन मात्रै भएको होइन । यदि, सिधै मध्यावधि चुनाव गराउने भए कांग्रेस, एमालेलाई दबाब दिएर तत्कालै चुनाव हुन्थ्यो । त्यत्रा मान्छेहरू मारिनु पर्दैनथ्यो,” भट्टले बाह्रखरीसँग भने ।
उनका अनुसार, चुनाव नभइ सर्वपक्षीय सरकार गठन गरी भदौ २३ र २४ गतेको विद्रोहको निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ ।
“चुनाव होइन । सर्वपक्षीय सरकार बनाउँदै शक्तिशाली आयोग गठन गरेर भदौ २३ र २४ गतेको छानबिन गरिनुपर्छ । तर, अब त २४ गतेको प्रदर्शनमा सहभागी पाँच सयभन्दा बढी साथीहरू जेल पुगिसके,” उनले भने ।
उनको भनाइमा, “यो सरकारले भदौ २३ को प्रहरी दमन र दोषीलाई छुन पनि सकेको छैन । कसको इशारामा २४ गतेको घटनामा सहभागीलाई मात्रै समाइरहेको छ ? त्यसैले प्रधानमन्त्रीको राजीनामा मागेका हौँ ।”
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो ।
विशेषगरी ढुंगाना समूहले ९ बुँदे मागहरू अघि सारेको छ । ती मागहरूमध्ये, नागरिकस्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन हुनुपर्ने, देशको स्थायित्व र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, नेपाली नागरिकता कायम राखेका विदेशस्थित नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रमुख माग हुन् ।
भदौ २३ र २४ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनका लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्नुपर्ने माग यस समूहको हो ।
त्यस्तै, तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकमाथि पनि कारबाही हुनुपर्ने र भ्रष्टाचारका फाइल खोल्दै कारबाही गर्नुपर्ने माग छन् ।
भट्ट भन्छन्, “यो सरकार जेनजी र आमजनताको मर्मविपरीत काम गर्दै छ । आफ्ना नातेदारलाई नियुक्तिदेखि आसेपासेकै रगजग हुने सरकार बनेको छ । दुई–चारजना सामान्य मान्छेलाई पक्राउ गर्दैमा केही हुँदैन । हामीसँग अब प्रधानमन्त्रीको राजीनाको विकल्प छैन ।”
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेपछि उक्त समूह थप आक्रोशित बनेको थियो ।
सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद–मन्त्रीहरूको चल–अचल सम्पत्ति रोक्का गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध गर्नुपर्ने माग पनि उठाएको उनले बताए ।
त्यस्तै, जेनजी निगरानी आयोग बनाउनुपर्ने, सहिद–घाइते परिवारलाई तत्काल रोजगारी दिनुपर्ने माग पनि सम्बोधन नभएको उनको भनाइ छ ।
बहालवाला उर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाललगायत मन्त्रीहरूमाथि समेत छानबिन हुनुपर्ने माग मिराज समूहको छ ।
पर्यटन र सामान्य प्रशासनमन्त्री पद त्यागेको दाबी
मिराज समूहले जेनजीका कुनै पनि मागहरू सम्बोधन नगर्दा मन्त्री पद नै त्यागेको दाबी गरेको छ । “मिराजजीलाई त सामान्य प्रशासनमन्त्री र पर्यटनमन्त्रीको अफर आएको थियो । तर, जेनजी र नागरिकका मागहरू पूरा नभएको मन्त्री बन्न अस्वीकार गर्नुभएको थियो,” उनले भने ।
भदौ २३ र २४ गतेको आन्दोलनमा मिराज समूहको सहभागिता नभएको तर, पछि जस लिन खोजेको समेत आरोप उनी लागेको थियो ।
भट्ट भन्छन्, “जेनजी प्रदर्शन घोषणा गर्ने को थियो पल्टाएर हेरे हुन्छ । त्यो दिनका फोटो–भिडियोहरू हेरिन्छ । मिराजजी एकजना मात्रै नजानुभएको हो । हाम्रो टिम सबै सडकमा थियौँ ।”
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेटेपछि उनैबाटै परिचालित भएको आँकलन समेत गरिएको थियो । तर, आफूहरूले जेनजी प्रदर्शनकै बेला पनि ‘तपाईंहरू समावेश नहुनुस्’ भनी आन्दोलनमा आउन नदिएको दाबी मिराज समूहको छ ।
“दुर्गा प्रसाईं मात्रै होइन । हाम्रो ‘कनेक्सन’ कसैसँग पनि छैन । नपत्याए नक्सालमा हाम्रो कार्यालय छ, त्यहाँ दिनदिनै निगरानी राखे हुन्छ । हाम्रो अनुहार भनेकै हाम्रो एजेन्डा हो,” उनले भने, “कसैलाई मन्त्री बन्नु छैन, प्रधानमन्त्री बन्नु छैन । हाम्रो समूहले उठाएका मागहरूमा काम गर्न सकेनौँ भनेर आफ–आफ्नो व्यवसायमा फकिन्छौँ ।”
सरकार र प्रधानमन्त्रीविरुद्ध सत्याग्रहको तयारी
प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै आएको यो समूहले आफ्ना मागहरू पूरा नभएसम्म पछाडि नहट्ने अडान लिएको छ ।
आफूहरू प्रधानमन्त्रीविरुद्ध चरणवद्ध रूपमा आन्दोलनको घोषणा गर्ने तयारी गरेको पनि भट्टले बताए ।
“हाम्रो समूह सरकार र प्रधानमन्त्रीका गतिविधिविरुद्ध सडक आन्दोलनमै छौँ । अब सरकारविरुद्ध अनशन र सत्याग्रहको घोषणाको तयारी गरिरहेका छौँ । अर्थहीन चुनावको कुनै औचित्य छैन,” भट्टले भने ।
हाल ‘गरिखाना देऊ’ अभियानमा १२५ जनाको टिम रहेको भट्टले बताए । उनको दाबी अनुसार, देशभर एजेन्डा मिल्ने सबै जेनजीहरू एकजुट हुँदै छन् ।
