काठमाडौं । नेकपा (एमाले)को ११औैँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरूको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेको छ ।
विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये दुई हजार १५४ जना निर्वाचित भएर आउने बताए । १०८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुनेछन् । मनोनीतसहित प्रतिनिधिको संख्या दुई हजार २६२ जना हुने अधिकारीले जानकारी दिए ।
तात्कालीन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीनजनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।
अधिकारीका अनुसार प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ ।
ती जिल्लाहरुमा प्रतिनिधि छनोट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्याएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरेको थियो । जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रूपमा प्रतिनिधि छनोट भएर आएका छन् ।
त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनोटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए ।
प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको उनले बताए । संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ ।
एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधिबाहेक थप ३५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यह हुन् । सल्लाहकार परिषद्मा ३७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् ।
प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६१३ जना सहभागी हुनेछन् ।
विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ ।