site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छिमेकी र मित्रराष्ट्रको चासो निर्वाचनमा : सद्‌भाव, सहयोग र समर्थन जुटाउँदै परराष्ट्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिँकिदै गर्दा छिमेकी र मित्रराष्ट्रले यसप्रति चासो बढाएका छन् । बाटो बिराइरहेको लोकतन्त्रलाई मजबुत पार्न र ‘ट्रयाक’मा ल्याउन उनीहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेपालका लागि भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, युरोपेली युनियन (ईयू)लगायत मुलुकका राजदूतले पछिल्लो समय मन्त्री र प्रधानमन्त्रीसँग भेट्दा निर्वाचनमै बढी केन्द्रित हुँदै जिज्ञासा राख्ने गरेका छन् ।

“छिमेकी, मित्रराष्ट्र र दातृनिकायबाट नेपालको लोकतन्त्रलाई सघाउने प्रतिबद्धता प्राप्त भएको छ । उहाँहरूको चाहना घोषित मितिमै निर्वाचन होस् भन्ने छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने ।

निर्वाचनको माहोल बुझ्न र ‘समर्थन जनाउन’ भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार आइतबार (मंसिर २१) काठमाडौं आएका छन् । उनले मंगलबार (मंसिर २३) प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदीश खरेलसँग भेट्दै छन् ।

निर्वाचन आयोगले आउँदो फागुन २१ गते चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । दल दर्ताको प्रक्रिया पनि सकिएको छ । आयोगले १२० दललाई चुनाव चिह्न दिएको छ ।

“निर्वाचनको वैधानिकताका लागि पनि छिमेकी तथा मित्रराष्ट्रको सद्‌भाव, सहयोग र समर्थन आवश्यक पर्छ । हामी यही वातावरण बनाउने प्रयास गरिरहेका छौँ । अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई नेपाल आउने वातावरण बनाइरहेका छौँ,” प्रवक्ता क्षेत्रीले भने ।

प्रधानमन्त्री कार्की र परराष्ट्रसचिव अमृतबहादुर राईले निर्वाचनकेन्द्रित हुँदै विदेशी राजदूत, महावाणिज्यदूत र विदेशस्थित नेपाली राजदूतहरूसँग छलफल गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपालका लागि भारत, चीन र अमेरिकी राजदूतहरूले निर्वाचनका निम्ति आवश्यक सहयोग गर्ने बताएका छन् । उनीहरूले के कस्तो सहयोग आवश्यक पर्छ त्यो स्पष्ट भन्न परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् । 

“प्रधानमन्त्रीज्यूले सकेसम्म सहयोग नलिने र नेपालकै स्रोतसाधन प्रयोग गरी निर्वाचन गर्ने जनाउँदै आउनुभएको छ । सहयोग लिनैपर्ने भएमा मात्र लिने प्रधानमन्त्रीको रणनीति छ,” परराष्ट्र स्रोतले भन्यो ।

भारतले निर्वाचन प्रयोजनका निम्ति केही गाडी नेपाललाई उपलब्ध गराउने तयारी सुरु गरिसकेको छ ।

अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि कार्कीले गएको असोज २२ गते विदेशस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई भर्चुअल सम्बोधन गरेकी थिइन् । सम्बोधनमा उनले निर्वाचन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको र यो नै आफ्नो प्रमुख प्राथमिकता भएको बताएकी थिइन् ।

विदेशस्थित नेपाली राजदूत तथा नियोग प्रमुखलाई सम्बोधन गर्दा उनले पाँच विषयलाई उच्च महत्त्व दिएकी थिइन् । तीमध्ये एउटा थियो, निर्वाचन ।

“लोकतन्त्रको मुख्य आधार नै स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन हो । यहाँहरूको कार्यक्षेत्रका सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र साझेदारहरूसँग यस विषयमा जानकारी र आवश्यक समन्वय जरुरी छ । कुनै मित्रराष्ट्रबाट खास प्राविधिकलगायत अन्य सहयोग लिनुपर्ने अवस्थामा हामीले छुट्टै र छिट्टै यहाँहरूलाई जानकारी गराउनेछौँ,” प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।

निर्वाचनको समयमा अन्तर्राष्ट्रिय प्रचलनअनुरूप गरिने पर्यवेक्षणका विषयमा पनि आयोगले आवश्यक तयारी थालेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले असोज ३१ गते काठमाडौंस्थित विदेशी कूटनीतिक नियोग प्रमुख र विकास साझेदारसँग पनि छलफल गरेकी थिइन् । छलफलमा छिमकी तथा मित्रराष्ट्रका राजदूत र दातृनिकायका प्रमुख सहभागी थिए । 

त्यसअघि विभिन्न देशका राजदूत र दातृनिकायका प्रमुखलाई छुट्टाछुट्टै भेटेकी प्रधानमन्त्री कार्कीले असोज ३१ गते उनीहरूसँग सामूहिक छलफल गरेकी थिइन् । छलफलमा ‘जेनजी’ आन्दोलन र राजनीतिक परिवर्तनबारे जानकारी गराउँदै उनले भनेकी थिइन्, “यो गैरराजनीतिक, संक्रमणकालीन सरकारलाई एउटै मात्र जनादेश छ– स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने ।”

उनले विदेशी राजदूत तथा दातृनिकाय प्रमुखलाई आफू ६ महिना मात्र सरकारमा बस्ने र शान्तिपूर्ण रूपमा निर्वाचित लोकतान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी थिइन् ।

“अघिल्ला चुनावहरूमा जस्तै ऐतिहासिक लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस यात्रामा तपाईंको निरन्तर सद्‌भाव र समर्थनको कदर गर्छौं,” प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।

परराष्ट्रसचिव राईले पनि यही मंसिर ७ गते काठमाडौंमा रहेका विभिन्न देशका मानार्थ महावाणिज्य तथा वाणिज्यदूतहरूलाई मन्त्रालयमा बोलाई छलफल गरेका थिए । 

उनले पनि वर्तमान सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएको बताउँदै घोषित मितिमै स्वतन्त्र, विश्वासनीय र निष्पक्ष चुनाव हुने सन्देश सम्बन्धित देशमा पुर्‍याउन आग्रह गरेका थिए ।

“प्रतिनिधिसभा निर्वाचनमा हामी अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई स्वागत गर्न तत्पर छौँ,” राईले विभिन्न देशका महावाणिज्यदूतहरूलाई भनेका थिए ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्