काठमाडौं । पछिल्लो समय ‘जेनजी’ अगुवाका रूपमा चिनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले आफूहरूले चाहेको नयाँ राजनीतिक व्यवस्था धर्मराउँदै गएको बताएका छन् ।
मंगलबार (मंसिर २३) काठमाडौंको रत्नपार्कमा राप्रपाको सभामा उनले भने, “राष्ट्रले नयाँ राजनीतिक व्यवस्था, नयाँ संविधान प्राप्त गर्छ भन्ने आत्मविश्वास थियो । त्यो धर्मराउँदै गएको र विद्रोहलाई अपराधीकरण गर्ने दिशातर्फ गएका बेला राप्रपाले यसको नेतृत्व लिन्छ । हामी विद्रोहलाई आत्मसात् गर्छौं ।”
उनले नयाँ पुस्ताले विद्रोह गरेको तीन महिना पूरा भएको स्मरण गरे । “नेपालको एक मात्र राजनीतिक शक्तिले त्यो युवाशक्ति र बलिदानलाई आत्मसात् गरेर अगाडि बढ्ने निर्णय गर्यो,” उनले भने, “यो जेनजी पुस्ताको भावना बोक्ने नै राप्रपा हो र सबै जेनजी पुस्तालाई आबद्ध हुन आग्रह गर्दछु ।”
जेनजी आन्दोलनको मुद्दालाई संस्थागत गर्न राप्रपा अगाडि बढ्ने उनले बताए ।