site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस रुपन्देही–५ ले शाहको एकल नाम पठायो, इतर पक्षको असन्तुष्टि

बुटवल । नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र नम्बर ५ मा भरतकुमार शाहको एकल नाम सिफारिस भएको छ । पूर्वअर्थराज्यमन्त्री समेत रहेका र तीनपटक प्रतिनिधिसभामा निर्वाचित शाहको नाम एकल सिफारिस गरेको रुपन्देही–५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बाह्रखरीलाई जानकारी दिए । बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले विरोध नगरेकाले एकल सिफारिस गरिएको दाबी गरे ।

यता, दोहोरो सिफारिस गरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ । शाहको नाम सिफारिसप्रति इतर पक्षले असहमति जनाउँदै विष्णु पोखरेलसहित तीनजनाको नाम केन्द्रीय कार्यालयलाई पठाएको छ । उमेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भए पनि शाह पक्षले आफूहरूलाई उपस्थित नै नगराई एकलौटी सिफारिस गरेको इतर पक्षको आरोप छ ।

क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले पनि यसप्रति आपत्ति जनाएका छन् । क्षेत्रीय समितिले अनिवार्य रूपमा महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिलाई सहभागी गराई सिफारिस गर्नुपर्नेमा रुपन्देही क्षेत्र नम्बर ५ मा आफू अनुकूलका प्रतिनिधिलाई मात्रै खबर गरिएको शर्माको जिकिर छ ।

इतर पक्षले पोखरेलका साथै महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ ।

यस्तै, संस्थापन पक्षले समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सूर्यमति उपाध्याय र शेषमन यादवलाई सिफारिस गरिएको छ ।

इतर पक्षले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ अधिवक्ता शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल र सीता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको छ ।

२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए । ०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्