site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन् । बुधबार (मंसिर २४)देखि काठमाडौंमा सुरु पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संविधान असफल भइसकेको र यही प्रणाली कायम राखेर गरिने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे । उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीप्रति लक्षित उनले जनताका बीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे । जनतामा जान सक्ने र आशा गरेको पार्टी राप्रपा मात्र भएको उनको भनाइ थियो ।

राजेन्द्र लिङदेनको भनाइ पढ्नोस्–
असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ । त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन । त्यसले थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ । र, हामी प्रारम्भिक रूपमा पनि यो सरकार बन्ने क्रममा आफ्नो धारणा व्यक्त गरेका छौँ । र, आज देखिँदै पनि गएको छ । यथास्थितिमा चुनाव समस्याको समाधान होइन भन्ने कुरा प्रस्ट भएको छ । त्यसकारण यस्तो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीको यो बैठक अत्यन्तै ऐतिहासिक र महत्त्वपूर्ण छ । जनताले अहिले आशाको नजरले हेरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्