site stats
बाह्रखरी :: Baahrakhari
विदेश
किन तोडिँदै छन् ट्रम्पले मध्यस्थता गरेका युद्धविराम सम्झौता ?

काठमाडौं । यस वर्षको नोबेल पुरस्कार घोषणाको ठीक अघि डोनाल्ड ट्रम्पले आफ्नो कारणले एक–दुई होइन, विश्वका आठवटा स्थानमा युद्ध रोकिएको दाबी गरेका थिए ।

थाइल्यान्ड र कम्बोडियाबीचको युद्धविराम सम्झौता पनि यिनैमध्ये एक थियो । यी दुई देशबीच युद्धविराम त भयो, तर त्यो अहिले भंग भइसकेको छ । विगत केही दिनदेखि निरन्तर दुईतर्फी आक्रमणहरू जारी छन्, जसमा १२ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

दक्षिण–पूर्वी एसियाको यो एक घटना मात्र होइन । अन्य धेरै देश वा स्थानहरूमा पनि ‘ट्रम्प–ब्रोकर्ड’ शान्ति सम्झौता त्यति दिगो देखिएको छैन ।

थाइल्यान्ड र कम्बोडियाबीच मे महिनामा पनि पाँच दिनसम्म लडाइँ चलेको थियो । जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो र ३ लाखभन्दा बढी नागरिक विस्थापित भएका थिए । अक्टोबरमा दुई देशबीच अमेरिकी नेताको उपस्थितिमा युद्धविराम भएको थियो ।

यी दुई देशबीच दुई प्राचीन मन्दिरलाई लिएर लामो समयदेखि विवाद छ । ती मन्दिरहरू दुवै देशको सीमानजिकै अवस्थित छन् र दुवैले यसमाथि आफ्नो दाबी गर्छन् । हालै भड्किएको हिंसामा कम्तिमा १२ जनाको मृत्यु भइसकेको छ र हजारौँ मानिसहरू पलायन भएका छन् ।

ट्रम्पको भनाइ के छ ?

गत वर्षको सुरुमा ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस पुगेका थिए । त्यसपछि उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुलाई उच्च प्राथमिकतामा रखेको बताइन्छ । संयोगवश, यही समय धेरै देशहरू आपसमा लडाइँमा थिए । ट्रम्पले काम सुरु गरे । उनले एक–एक गरेर युद्धरत देशहरूसँग कुरा गर्न थाले । धेरै स्थानमा युद्धविराम गराउन दबाब दिन थाले र यसका लागि अमेरिकासँगको व्यापारलाई हतियारको रूपमा प्रयोग गरे । यसका कारण धेरै देशहरूले उनको कुरा माने र युद्धविराम गर्न सहमत पनि भए ।

एक वर्षको अवधिमा ट्रम्पले युद्ध रोकेको दाबी गरेका आठ लडाइँहरूमा थाई–कम्बोडिया सीमा संघर्ष, आर्मेनिया–अजरबैजान युद्ध, रुवान्डा–प्रजातान्त्रिक गणतन्त्र कङ्गो युद्ध, इजरायल–इरान युद्ध, इजरायल–हमास युद्ध, इजिप्ट–इथियोपिया विवाद, सर्बिया–कोसोभोबीचको संघर्ष तथा भारत–पाकिस्तानबीचको लडाइँ रहेका छन् । ट्रम्पले यी सबै युद्ध अन्त्य गर्न वा युद्धविराम गराउन मध्यस्थता गरेको दाबी गरेका छन् ।

यी युद्धविराम वा शान्ति सम्झौताको बदलामा आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने भन्दै ट्रम्पले जोडदार दाबी गरेका थिए । तर, यस वर्षको नोबेल शान्ति पुरस्कार उनलाई दिइएन ।

तर, ट्रम्पद्वारा गराइएका यी शान्ति वा युद्धविराम सम्झौताहरू स्थायी देखिएनन् । केही समयपछि यी देशहरूमा फेरि युद्ध बल्झिने सम्भावना रहेको थियो । नभन्दै त्यस्तै भयो । थाई–कम्बोडियाबीच फेरि युद्ध सुरु भइसकेको छ ।

गाजा पट्टी अझै पनि अशान्त

प्यालेस्टाइनको गाजामा इजरायल र हमासबीच पनि युद्धविराम त भयो, तर अहिलेसम्म शान्ति आएको छैन । युद्धविराम घोषणा भएको केही समयपछि नै तेल अभिव र हमासबीच फेरि लडाइँ हुन थाल्यो । पहिले जस्ता हवाई हमला रोकिएका भए पनि यो लडाइँ पूर्ण रूपमा कम हिंसात्मक भइसकेको भने छैन ।

ट्रम्पले नै सम्झौता गराएको कारण दुवै पक्ष संघर्षलाई सार्वजनिक गर्नबाट बचिरहेका हुन सक्ने अनुमान गरिएको छ । समग्रमा गाजा पट्टीमा अहिले पनि पुनर्निर्माण सुरु हुन सकेको छैन ।

इरान र इजरायल

इरान र इजरायलबीचको संघर्ष जुन महिनामा रोकिएको थियो । ट्रम्पले यसको मध्यस्थताका रूपमा श्रेय लिएका थिए । तर, यो सम्झौता निकै विवादित रह्यो । वास्तवमा युद्धविराम हुनुभन्दा ठीक अघि ट्रम्पको आदेशमा अमेरिकी सेनाले इरानका तीनवटा आणविक स्थलमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरान पनि अमेरिकामाथि आक्रामक बनेको थियो ।

सर्बिया र कोसोभो

सर्बिया र कोसोभोबीच झन्डै अढाई दशकदेखि तनाव चलिरहेको छ । कोसोभोले सन् २००८ मा सर्बियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो । तर सर्बियाले त्यसलाई मान्यता दिएको छैन । दुई देशबीच व्यापक संघर्ष भएपछि अन्ततः नेटो र युरोपेली संघको प्रयास कमजोर बनेको अवस्थामा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मध्यस्थता गरेका थिए । त्यसयता बितेका पाँच वर्षमा दुवै देशबीच झन्डै शान्तिपूर्ण अवस्था कायम छ ।

रुवान्डा र डीआरसीको अवस्था अझै चिन्ताजनक

रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले जुन महिनामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, यो युद्धविराम कमजोर देखिएको छ । मंगलबार कङ्गोले रुवान्डामाथि शान्ति सम्झौता उल्लंघन गरी हमला गरिरहेको आरोप लगाएको छ ।

भारत र पाकिस्तान : सबैभन्दा विवादित दाबी

भारत र पाकिस्तानबीचको युद्धविरामको विषय सबैभन्दा विवादास्पद रह्यो । कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले ‘अपरेशन सिन्दुर’ सञ्चालन गर्‍यो, जसमा पाकिस्तानस्थित आतंकी शिविरहरू लक्षित गरिएका थिए ।

यस क्रममा पाकिस्तानले पनि प्रत्युत्तर हमला गर्‍यो । यस्तो अवस्थामा अमेरिकाको हस्तक्षेप भएपछि रातारात युद्धविराम भयो । अमेरिकी राष्ट्रपति ट्रम्पले सबैभन्दा पहिले भारत–पाकिस्तानबीच युद्धविराम भएको घोषणा गर्दै आफूले यसमा भूमिका खेलेको दाबी गरे ।

उनले युद्धविराम नगरे अमेरिकोसँग व्यापार रोक्ने धम्की दिएर सम्झौता गराएको बताए । तर, भारतले युद्धविरामका लागि ट्रम्पको मध्यस्थता अस्वीकार गर्दै आएको छ भने पाकिस्तानले अमेरिकी दाबीमा सहमति जनाएको छ ।

आर्मेनिया र अजरबैजान : विवाद अझै कायम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा ८ अगस्टमा भएको ह्वाइट हाउस भेटपछि यी दुई छिमेकी देशबीच केही प्रगति देखिए पनि विवाद पूर्ण रूपमा अन्त्य भइसकेको छैन । एउटा अनिर्णीत विषय भनेको आर्मेनियाले आफ्नो संविधानमा परिवर्तन गरी विवादास्पद प्रस्तावना हटाउने मुद्दा हो, जसले अजरबैजानभित्रको भूभागमा दाबी गरेको छ ।

यस विषयमा अजरबैजानको विदेश मन्त्रालयले २ डिसेम्बर २०२५ मा ब्रसेल्समा सम्पन्न साझेदारी परिषद् बैठकपछि हस्ताक्षर गरिएको “ईयू–आर्मेनिया साझेदारीका लागि रणनीतिक एजेन्डा” का केही प्रावधानप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । अजरबैजानका अनुसार ती प्रावधानहरूले संघर्षपछिको वास्तविकतालाई विकृत गरेका छन् र शान्ति प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्छन् ।

विवादका मुख्य बुँदामध्ये एक कराबाखका आर्मेनियालीहरूको जबरजस्ती विस्थापनको उल्लेख हो । अजरबैजानले सम्बन्धित व्यक्तिहरूले प्रस्तावित पुनःएकीकरण प्रक्रिया अस्वीकार गरेपछि स्वेच्छाले क्षेत्र छोडेको दाबी गर्दै उनीहरूलाई शरणार्थीका रूपमा वर्गीकरण गर्नु राजनीतिक पूर्वाग्रह भएको जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्