काठमाडौं । दक्षिण कोरियाको वायुरक्षा पहिचान क्षेत्र (केएडीआईजेड)भित्र मंगलबार स्थानीय समयानुसार बिहान १० बजे सात रुसी र दुई चिनियाँ लडाकु विमान प्रवेश गरेको त्यहाँको संयुक्त चिफ्स अफ स्टाफ कार्यालयले जनाएको छ ।
केएडीआईजेड प्रादेशिक वायुक्षेत्र होइन । तर, उक्त क्षेत्रमा प्रवेश गर्ने विमानले आफ्नो परिचय दिने अपेक्षा गरिन्छ ।
योनहाप समाचार संस्थाका अनुसार, रुसी र चिनियाँ विमानले दक्षिण कोरियाको हवाईरक्षा क्षेत्रमा करिब एक घण्टासम्म उडान भरेका थिए । त्यसपछि ती विमान उक्त क्षेत्रबाट बाहिरिएका थिए ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले विमान आफ्नो वायुरक्षा क्षेत्रमा प्रवेश गरेको विषयमा चीन र रुसका प्रतिनिधिसँग कूटनीतिक प्रतिवाद दर्ता गरिएको बुधबार जानकारी दिएको छ ।
यसैबीच, जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमीले रुस र चीनको संयुक्त गस्तीको प्रतिक्रियास्वरूप आफूहरूले वायुरक्षा उपाय कडाइका साथ कार्यान्वयन गर्न सैन्य विमान तैनाथ गरेको बताएका छन् ।
कोइजुमीले मंगलबार साँझ सामाजिक सञ्जालमा भनेका छन्, “दुवै देशका बमवर्षक विमानहरूको बारम्बार संयुक्त उडानले हाम्रो देश वरपरका गतिविधिहरूको विस्तार र गहिराइलाई संकेत गर्छ । र, हाम्रो राष्ट्रविरुद्ध शक्ति प्रदर्शन गर्ने स्पष्ट मनसायका कारण यो हाम्रो राष्ट्रिय सुरक्षाका निम्ति गम्भीर चिन्ताको विषय बनेको छ ।”
चीनको रक्षा मन्त्रालयले मंगलबार वार्षिक सहयोग योजनाअनुसार रुसी सेनासँग संयुक्त हवाई अभ्यास आयोजना गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार, पूर्वी चीन सागर र पश्चिमी प्रशान्त महासागरमा सम्पन्न यो अभ्यास रुससँग गरिएको १०औँ संयुक्त रणनीतिक हवाई गस्ती हो ।
रुसले पनि बेइजिङसँगको संयुक्त अभ्यासको पुष्टि गरेको छ । त्यो करिब आठ घण्टासम्म चलेको जनाइएको छ । केही विदेशी लडाकु विमानले त्यसलाई पछ्याएको पनि जनाइएको छ ।
सन् २०१९ देखि चीन र रुसले संयुक्त सैन्य अभ्यासका नाममा पूर्वसूचना नदिई नियमित रूपमा दक्षिण कोरियाली र जापानी वायुक्षेत्रनजिक विमान उडाइरहेका छन् ।