site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जेनजी’को भावनालाई सम्मान गर्दै नेपालसँगको सम्बन्धलाई निरन्तरता, दल र नेतासँग ‘दुरी’ बनाइराख्ने

काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर चारदिने नेपाल भ्रमण गरी बुधबार भारतको नयाँदिल्ली फर्केका छन् ।

भारतीय उच्चस्तरीय अधिकारीले नेपाल भ्रमण गर्दा यसपालि केही भिन्न दृश्यहरू देखिए । यसअघि उनीहरू आउँदा परराष्ट्र सचिवदेखि मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई शिष्टाचार भेट गर्थे । त्यतिमात्र होइन, उनीहरूले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेट गर्थे । तर, यसपटक दृश्य केही फेरियो । 

आइतबार नेपाल आएका महावरले केही मन्त्री र प्रधानमन्त्रीसँग मात्र शिष्टाचार भेटवार्ता गरे । उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई त भेटेनन् नै, राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टचार भेट गरेनन् । 

“भारतीय अतिरिक्त विदेश सचिवले चारदिने नेपाल भ्रमण गर्दा स्पष्ट सन्देश दिएका छन्– जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै नेपालसँगको सम्बन्धलाई निरन्तर दिने तर राजनीतिक दल र नेताहरूसँग तत्काल निकट सम्बन्ध नराख्ने,” प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

महावरले सबै महत्त्वपूर्ण भेटवार्ता मंगलबार गरेका थिए । उनले मंगलबार प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

“यी बैठकमा भारत–नेपाल सहकार्यमा भइरहेको स्थिर प्रगतिमाथि प्रकाश पार्नुका साथै यो साझेदारीलाई थप सुदृढ तथा विस्तार गर्ने उपायहरूबारे छलफल भए,” काठमाडौंस्थित भारतीय दूतावासले महावरले गरेको भेटवार्ताका सम्बन्धमा भनेको छ ।

महावर नेपाल आउँदा मात्र होइन जेनजी आन्दोलनपछि केही नेपाली नेताहरू भारत जाँदा पनि उनीहरूप्रति चासो देखाएका छैनन् । केही नेता भारत पुगी भेटवार्ताका लागि समय माग्दा पनि भारतीय नेतृत्वलाई ‘रिजेक्ट’ गरेको स्रोत बताउँछ ।

“नेपालका नेताहरूसँग भेट गर्दा त्यसको सन्देश गलत जान सक्नेप्रति भारत गम्भीर छ । यसैकारण नेपाली राजनीतिक दल र तिनका नेताहरूसँग दूरी बनाइराखेको छ । नेपालको राजनीतिले कुन बाटो समात्छ भन्ने सम्बन्धमा भारत ‘पर्ख र हेर’को अवस्थामा छ,” स्रोतले भन्यो ।

भारतीय अतिरिक्त विदेशसचिव महावर लुम्बिनीमा एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने बहानामा नेपाल आए पनि उनको खास उद्देश्य भने तीनवटा थिए । पहिलो, नेपालको पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे जानकारी लिनु । दोस्रो, निर्वाचनको तयारीबारे बुझ्नु र तेस्रो, भारतीय सहायतामा सञ्चालित परियोजनाको अवस्था जान्नु । 

“जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनले दुई देशबीचको सम्बन्धलाई असर गर्न दिन नहुने धारणा महावरको छ । महावरले दुई देशको सम्बन्ध मजबुत बनाइराख्न नेपाल र भारतबीचका संयन्त्रका बैठकलाई निरन्तरता दिनुपर्ने बताएका थिए,” स्रोतले भन्यो । 

स्रोतका अनुसार, भारत कम्तीमा पनि निर्वाचन नहुन्जेलसम्म दल र तिनका नेताहरूसँग देखिने गरी निकट हुन चाहेको छैन । एक प्रकारले जेनजी आन्दोलनपछि राजनीतिक दलका नेतासँगको भेटघाटलाई भारतले बन्द नै गरेको छ । 

“त्यसै पनि नेपालीमा ‘भारतविरोध भावना’ बढी रहेको बुझाइ भारतको छ । यस्तो समयमा दल र तिनका नेतासँग हिमचिम बढाए जेनजी (युवापुस्ता)मा यस्तो भावना झन् बढ्ला भन्नेतर्फ भारत सचेत रहेको देखिन्छ,” स्रोतले भन्यो ।

भेटवार्तामा महावरले नेपाल र भारतबीच रहेका झण्डै तीन दर्जन संयन्त्रले दुई देशका जनतालाई लाभ दिने हुँदा यस्ता संयन्त्रको बैठक रोक्न नहुने धारणा स्पष्ट राखेका थिए । 

महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलन र त्यसपछिको अवस्था र आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे जानकारी लिएका थिए । 

उनले प्रधानमन्त्री कार्कीसँग जिज्ञासा राखेका थिए, “नेपालको अवस्था कस्तो छ ?” 

त्यसपछि प्रधानमन्त्री कार्कीले पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । जेनजीका भावना र माग, उच्चस्तरीय छानबिन आयोगले गरिरहेको काम, निर्वाचनको तयारी सम्बन्धमा उनले जानकारी दिएकी थिइन् । 

गृहमन्त्री अर्यालसँगको भेटमा महावरले प्रतिनिधिसभा निर्वाचन, नेपालको शान्ति सुरक्षाको अवस्था, जेनजी आन्दोलनको समयमा भागेका कैदी/बन्दी र लुटिएका हातहतियार र सीमा सुरक्षाका सम्बन्धमा चासो राखेका थिए । 

स्रोतका अनुसार, नेपालले यसअघि नै प्रतिनिधिसभा निर्वाचनको प्रयोजनको लागि भारतसँग ६ सयको हाराहारीमा सवारीसाधन माग गरिसकेको छ । भेटमा महावरले नेपालले मागेको निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । 

“घोषित मितिमै निर्वाचन गरेमा मात्रै लोकतन्त्र र संविधान ट्रयाकमा ल्याउन सकिने धारणा महावरले राखेका थिए,” स्रोतले भन्यो । 

महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, बाढी तथा पहिरोले क्षति गरेका संरचनाको पुनर्निर्माण र व्यवस्थापनमा सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

ऊर्जामन्त्री कुलमान घिसिङसँगको भेटमा महावरले भारतीय कम्पनीले नेपालमा व्यहोर्नुपरेको समस्याबारे गुनासो गरेका थिए । खासगरी भारतका कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सामान गर्नुपरेको समस्या उनले उठान गरेका थिए । 

महावरले भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना र ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या विशेष प्राथमिकताका साथ उठाएका थिए । 

महावरले परराष्ट्र सचिव अमृत राईसँगको भेटमा जेनजी आन्दोलनका कारण नेपाल–भारत सम्बन्धमा कुनै रुकावट आउन नहुने धारण व्यक्त गरेका थिए । “केही राजनीतिक कारण दुई देशको सम्बन्ध रोकिनु हुँदैन,” महावरले स्पष्ट शब्दमा भनेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्