काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट अमेरिकाले एउटा तेल ट्यांकर कब्जा गरेको बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्यांकर कब्जा गरेका छौं । वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो ।”
महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक संजाल एक्समा एक भिडियो पोस्ट गरिन्, जसमा अमेरिकी सेना ट्यांकरमा चढेको जस्तो देखिन्थ्यो ।
यो घोषणाले ट्रम्प प्रशासन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनबीचको पछिल्लो तनावलाई संकेत गर्ने बताइएको छ । यो त्यस्तो समयमा आएको छ, जब विपक्षी नेता मारिया कोरिनो मचाडो देश छोडेर नोवेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको ओस्लो गएको विश्वास गरिन्छ ।
यो हप्ताको सुरुमा अमेरिकी समाचार संस्था पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरोको दिनगन्ति सुरु भएको भनेका थिए । भेनेजुएलाविरुद्ध अमेरिकी सेना पठाउने सम्भावनालाई पनि अस्वीकार गरेका थिएनन् । डीडब्ल्यू डटकमबाट ।